भारतले नेपालबाट थप २५१ मेगावाट बिजुली किन्ने, बिक्रीदर ८.७२ रुपैयाँ प्रतियुनिट



काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले भारतका बिहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात गर्ने भएको छ।

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले हरियाणा राज्यका लागि १२५.८९ मेगावाट र बिहारका लागि १२५ मेगावाट बिजुली नेपालबाट आयात गर्ने भएको हो।

१० जलविद्युत आयोजनाहरुबाट उत्पादित १२५ मेगावाट विद्युत बिहारलाई र २ जलविद्युत आयोजनाहरुबाट उत्पादित थप १२५.८९ मेगावाट विद्युत हरियाणा राज्यका वितरण कम्पनीहरुलाई बिक्री गरिने छ। प्राधिकरणले हरियाण राज्यलाई हाल १०९ मेगावाट विद्युत् बिक्री गरिरहेको छ।

नेपालमा खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् हरेक वर्ष जुन देखि अक्टोबरसम्म बिहार र हरियाणालाई बिक्री गरिने छ। योसँगै मध्यकालीन सम्झौता बमोजिम भारतका राज्यस्तरका वितरण कम्पनीहरुलाई बिक्री गरिने विद्युत्को परिमाण ३६० मेगावाट पुगेको छ।

आगामी अक्टोबरसम्म बिक्री गरिने विद्युत्को बिक्री दर प्रति युनिट ८ रुपैयाँ ७२ पैसा (५.४५ भारु)रहेको छ। गत वर्ष हरियाणलाई बिक्रीका लागि स्वीकृति दिएको १०९ मेगावाटको प्रति युनिट दर ८ रुपैयाँ ४० पैसा (५.२५ भारु) छ। यसमा भारतर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरु प्राधिकरणले बेहेर्नु पर्ने छैन।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ। भारतको इनर्जी एक्सचेञ्ज ९आइएक्स०को रियल टाइम मार्केट, डे–अहेड बजारमा प्रतिश्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम हरियाणा राज्यलाई बिक्री गरिरहेको छ। भारतबाट स्वीकृति पाएसँगै अब बिहारलाई पनि विद्युत् बिक्री सुरु हुनेछ। प्रतिश्पर्धी बजार र मध्यकालीन सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरुबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री हुनेछ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतीय पक्षबाट स्वीकृति पाएसँग अब छिट्टै बिहार र हरियाणामा थप विद्युत् निर्यात सुरु गरिने बताउनुभयो। ‘स्वीकृत परिमाणको १० प्रतिशत थप विद्युत् निर्यात गर्न सक्ने हुँदा अब एक हजार मेगावाटभन्दा बढी निर्यात गर्न सक्ने अवस्था बनेको छ, थप २०० मेगावाट निर्यात स्वीकृतिको प्रक्रियामा रहेको छ, छिट्टै स्वीकृति पाउनेमा विश्वस्त छौं, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो। ‘अब विद्युत निर्यातको परिणाम बढ्दै जानेछ, चालु आवमा २५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने लक्ष्य राखिएको छ।’

प्रकाशित मिति : भाद्र ३, २०८१ सोमबार  ५ : ०२ बजे