काठमाडौँ । नेपाली कांग्रेसका सभापति र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीचको छलफल विनानिष्कर्ष सकिएको छ।
केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वयले पेस गरेका प्रतिवेदनका विषय संशोधन गर्नका लागि मनाउन देउवाले महामन्त्रीहरुलाई बोलाएर छलफल गरेपछि कुरा नमिलेको हो।
मंगलबार कुनै निष्कर्षमा नपुगेपछि देउवाले बिहीबार बिहान ९ बजेका फेरि थापा र शर्मालाई बोलाएका छन्।
महामन्त्रीहरूलाई बोलाइएको छलफलमा पार्टीका पदाधिकारी पनि सहभागी थिए। प्रतिवेदनमा कुरा नमिलेपछि देउवाले कांग्रेसको केन्द्रीय समिति बैठकको मिति नै सारेका छन्।
बैठक भदौ १६ गते दिउँसो २ बजे बस्ने गरी बोलाइएको छ। यसअघि भदौ १२ गते बैठक बोलाइएको थियो।
‘प्रतिवेदन परिमार्जन गर्न सभापतिज्यूले भन्नुभयो। महामन्त्रीद्वयले आफ्नो रायसहित प्रतिवेदन परिमार्जन गर्न नसकिने बताउनुभयो,’ बैठकमा सहभागी एक पदाधिकारीले भने।
साउन २३ गते बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदनमा भएको ‘एक्जिट पोलिसी’ र थापाको प्रस्तावमा कांग्रेसलाई रुखमा भोट हाल्ने ग्यारेन्टी गरिनुपर्छ भन्ने विषयमा देउवाको असन्तुष्टि छ।
महामन्त्रीका प्रस्ताव नै देउवाका लागि घाँडो भएका छन्। प्रतिवेदन संशोधन गर्न महामन्त्री तयार नहुँदा साउन २३ सुरु भएको बैठक २८ सम्म चलेको थियो। तर सकिएन। भदौ ७ मा हुँदै भदौ १२ गतेका लागि सारिएको बैठक फेरि सारिएको हो।














