रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति



काठमाडौँ( सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६ दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ।

कास्की जिल्ला अदालतले आइतबार रविलाई ६ दिनसम्म थुनामा नै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो।

पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछानेलाई काठमाडौँमा पक्राउ गरी शुक्रबार पोखरा लगिएको थियो।

रविलाई अदालतमा पेस गर्नुअघि पोखराको सहिदचोकमा ठूलो संख्यामा रास्वपाका कार्यकर्ता जम्मा भएर निषेधित क्षेत्र तोडेका थिए। यसपछि प्रहरीले पानीको फोहरा हानेको थियो।

उता राष्ट्रबैंक चोकमा सहकारी पीडितले जम्मा भएर सहकारी ठगीमा जोडिएका सबैलाई कारबाही गर्न माग गरेको छ।

प्रकाशित मिति : कार्तिक ४, २०८१ आईतबार  ७ : ३१ बजे