काठ्माण्डौ-
आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ ।पहिलो खेलमा नेपाल कतारसँग चार विकेटले पराजित भए पनि दोश्रो खेलामा भने नेपालले सन्तोषजनक प्रदर्शन गरेको छ ।
मलेसियाले प्रस्तुत गरेको ८४ रनको लक्ष्य नेपालले आठ ओभरमा मात्र ३ विकेटको क्षतिमा पछ्यायो ।
कप्तान खड्काले विस्फोटक ब्याटिङ गर्दै २१ बलमा ५१ रन बनाए । यसक्रममा उनले ५ चौका र ३ छक्का हिर्काए ।त्यस्तै, प्रदीप सिंह ऐरीले १२ तथा विनोद भण्डारीले १३ रनको योगदान दिए ।पहिलो ब्याटिङ गरेको मलेसियाले निर्धारित ९ ओभरमा ७ विकेटको क्षतिमा ८३ रन बनाएको थियो ।
मलेसियाका लागि सायेद अजिजले ३० रन तथा वीरन्दीप सिंहले २१ रनको योगदान दिए ।नेपालका लागि सोमपाल कामीले ३ तथा वसन्त रेग्मीले २ विकेट लिए । सन्दीप लामिछानेले र करण केसीले १–१ विकेट लिए ।
सिंगापुरमा जुलाई २० देखि २८ सम्म आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगिता हुँदैछ ।
छनोट प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, कुवेत, मलेसिया र कतार गरी पाँच राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । नेपालले अब तेस्रो खेल कुवेतसँग २७ र समूहको अन्तिम खेल आयोजक सिंगापुरसँग जुलाई २८ तारिख खेल्नेछ ।
नेपालले विश्वकप छनौटको सम्भावनालाई कायम राख्न कुबेत र सिङ्गापुरसगको खेल जित्नुपर्नेछ ।










