चितवनमा बस र हायस ईभि ठोक्किँदा चार जनाको मृत्यु, ६ जना घाइते



काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा आज बिहान भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

सत्रकिलो स्थित नारायणगढ मुग्लिन सडकमा करिब बिहान ३ बजे मुग्लिङबाट नारायणगढतर्फ आउदै गरेको ईभि हाइस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बस एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिमालका अनुसार सो दुर्घटनामा परी मृत्यु हुनेमा हायसमा सवार यात्रुहरु रहेका छन् ।

हायसमा सवार गोर्खा आरुघाट गाँउपालिका वडा नम्बर १ मान्बु का ४० वर्षीय राजबहादुर गुरुङ, हाईसमा सवार नामथर वतन नखुलेकी करिब ४० बर्षकी महिला, हाईसमा सवार नामथर वतन नखुलेको करिब ३२ वर्षको पुरुष र हाईसमा सवार नामथर वतन नखुलेको करिव ३५ वर्षको पुरुषको मृत्यु भएको प्रनाउ रिमालले बताए।

मृतक चारै जनाको टाउकोमा गम्भीर चोट लागेको छ । उनीहरुलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइए पनि चिकित्सकहरुले मृत घोषणा गरेका हुन् ।

यस्तै उक्त दुर्घटनामा परी घाइते भएका बसको सह चालक काठमाडौ महानगरपालिका वडा नम्बर ३२ का ३० वर्षीय भोज विक्रम शाहको भरतपुर अस्पतालमा उपचार भई रहेको छ ।

यस्तै नाम थर नखुलेका एक पुरुषको गम्भीर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने यस्तै नाम थर नखुलेका ३८ वर्षीय पुरुष घाइतेको टाउकोमा गम्भीर चोट लागेको छ । अन्य घाइतेको पनि उपचार हुँदै छ ।

प्रकाशित मिति : कार्तिक २३, २०८१ शुक्रबार  ८ : ४१ बजे