दरबारमार्गमा २५ तले होटल बन्दै, मीनबहादुरले गरे शिलान्यास



काठमाडौँ । काठमाडौँको दरवारमार्गमा रहेको पाँचतारे होटल अन्नपूर्ण अब अन्नपूर्ण स्क्वायर प्रालिमा रुपान्तरण हुने भएको छ।

अन्नपूर्ण स्क्वायर प्रालि र आईटीसी होस्पिटालिटीबीच साझेदारी भएको करिब २ महिनापछि अन्नपूर्ण स्क्वायर होटेलको शिलान्यास गरिएको हो।

अन्नपूर्ण स्क्वायर होटेलका अध्यक्ष मीनबहादुर गुरुङले सोमबार होटलको शिलान्यास गरे। २५ तलाको संरचनासहितको होटल ९ लाख स्क्वायर फिट क्षेत्रफलमा बनाउने योजना छ।

३५० कोठा हुने होटल बनाउन करिब साढे ६ अर्ब खर्च हुने कम्पनीको आकलन छ। होटेल २०८५ देखि सञ्चालन गर्ने तयारी रहेको गुरुङले जानकारी दिए।

दरबारमार्गको ५ तारे होटल अन्नपूर्णलाई भत्काएर नयाँ संरचना बनाउन लागिएको हो।

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र लिटिल एन्जल्सका सञ्चालक उमेश श्रेष्ठ समूहले होटलको बहुमत सेयर खरिद गरेपछि होटललाई अन्नपूर्ण स्क्वायर बनाउने योजनाअनुसार काम भइरहेको छ।

नयाँ ब्रान्डिङका लागि कम्पनीले भारतीय प्रिमियर ब्रान्ड आईसीटी वेलकम भित्र्याइएको छ।

गुरुङले दक्षिण एसियाकै उत्कृष्ट होटल बनाउने उद्देश्य राखेको बताए। उनले यो होटललाई नेपालको लक्जरी आतिथ्यताको होटल बनाउने पनि बताए।

गुरुङले भाटभटेनी सानो क्षेत्रबाट सुरु गरेर अहिले देशव्यापी बनाएको कथासँग जोडर होटललाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने उनको भनाइ छ।

प्रकाशित मिति : मंसिर ३, २०८१ सोमबार  ३ : १५ बजे