सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि जाहेरी



काठमाडौं, ५ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीको आरोपमा चितवनमा पनि जाहेरी परेको छ । सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताहरुले लामिछानेसहित १० जनाविरुद्ध जाहेरी दिएको चितवन प्रहरीले जानकारि दिएको छ ।

सहारा सहकारीका बचतकर्ताहरुले यसअघि नै जाहेरी दिएका थिए । अहिले १० जनाविरुद्ध पुरक जाहेरी दर्ता गराएका हुन् ।

चितवन को सहारा सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार रकम अवैध तरिकाले ल्याइएको पाइएको छ । सहारा सहकारी ठगी प्रकरणमा कास्की प्रहरीकै हिरासतमा रहेका नेपाल प्रहरीका पूर्व डिआईजी छविलाल जोशीसमेत तानिएका छन् ।

लामिछाने काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा समेत जोडिएका छन् । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जीसमेत जारी गरिसकेको छ ।

उनि हाल सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका छन् ।

प्रकाशित मिति : मंसिर ५, २०८१ बुधबार  ७ : ३७ बजे