काठमाडौं । रौतहटमा गाडी दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन् ।
मंगलबार मध्यराति १ बजेतिर चन्द्रपुर नगरपालिका ४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सार लमाहा खण्डमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपककुमार रायले जानकारी दिए।
दुर्घटनाको खबरपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट डिएसपी राजकुमार राईको कमाण्डमा प्रहरीको टोली खटिएको थियो। अनुसन्धानको क्रममा बा १६ च ३१६२ नं.को गाडी अनियन्त्रित भएर सडक छेउको रूखमा ठोक्किएको थियो।
दुर्घटनामा ज्यान गुमाउनेमा सिराहाको अर्नामा गाउँपालिका ३ बंठियाटोल बस्ने वर्ष ६० कि लरुवतीदेवी महरा, सोही ठाउँकी ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगींदेवि महरा, ६२ वर्षीया फूलमन्तीदेवी चमार, ६० वर्षीया रामकुमारिदेवी महरा, ३० वर्षीया सकुन्तलादेवी महरा र अर्नामा ५ बलुवाटोल घर भएका स्कार्पिओ चालक ४० वर्षीय श्रीकुमार यादव छन्।
दुर्घटनामा सिराहाको अर्नामा ३ कै ३० वर्षीया राधा राम, सोही ठाउँका उमेश रामका २ वर्षीय छोरा आर्यन राम, २५ वर्षीया देवकुमारी महरा, उनका ७ वर्षीय छोरा रितिक महरा र ६० वर्षीया कन्यादेवी महरा घाइते भएका छन्।
इन्सपेक्टर महतोका अनुसार केही घाइतेको चन्द्रनिगाहपुरस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। धेरैले घटनास्थलमै ज्यान गुमाएका हुन्। गम्भीर अवस्थाका एक जनालाई थप उपचारको लागि वीरगन्ज रेफर गरिएको छ।
यस दुर्घटनामा परी पाँच जना घाइते भएका छन्।उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ६० वर्षीया कन्या देवि महराको थप उपचारका लागि बयोधा अस्पताल वीरगंज रिफर गरिएको छ।
मृतक आठै जनाको शव चपुरस्थित सरकारी अस्पतालमा पुर्याइएको छ। गाडी जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरमा लगिएको छ।










