रवि लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार भएको हल्ला मात्र हो : गृहमन्त्री लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखकले अनुसन्धानको दायरामा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार भएको भन्ने हल्लामा सत्यता नभएको स्पष्ट पारेका छन् ।

आज मंगलबार सुर्खेतमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा गृहमन्त्री लेखकले यस्तो दाबी गरेका हुन् । बरु, उनले लामिछानेका समर्थकहरुले अनुसन्धान प्रभावित पार्ने कार्य गरिरहेको आरोप लगाए ।

रविको समर्थनमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निकालेको विज्ञप्तिप्रति आपत्ति जनाएका छन् ।

‘कसैले पनि अनुसन्धानलाई प्रभावित गर्ने, अदालतलाई प्रभावित गर्ने, न्यायिक प्रक्रियालाई प्रभावित पर्ने ढंगले बोलेको कुरा बेठिक हो,’ लेखकले भने, ‘यसमा प्रमुख प्रतिपक्षी दलको नेताले नै यस्तो काम गर्नु झनै दुर्भाग्यपूर्ण हो ।’

उनले प्रमुख प्रतिपक्षी दलको समर्थनमा लामिछाने आबद्ध दलका समर्थकहरूले पनि अनुसन्धानमा प्रभाव पार्न विभिन्न गतिविधि गरिरहेको बताए । ‘अनुसन्धान हुँदै गर्दा प्रहरी, वकिल कार्यालय र अदालत घेरा हाल्ने, सडकमा आएर विधिको शासनलाई उल्लंघन गर्ने काम भइरहेको छ । के यो सही हो त ?’ उनले भने ।

प्रकाशित मिति : मंसिर २५, २०८१ मंगलबार  २ : ०४ बजे