अजेय सुमार्गीको सम्पत्ति शुद्धीकरणको सक्कली फाइल झिकाउन सर्वोच्चको आदेश



काठमाडौं-

सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीले नेपाल स्याटलाइट टेलिकमका लागि भन्दै भित्र्याएको सबा २ अर्ब रुपैयाँको वैधानिकता विवादमा सम्पत्ति शुद्धीकरणको सक्कली फाइल मगाउने आदेश गरेको छ।

बिहीबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र मनोज शर्माको इजलाशले २ वर्षपछि यो विवादमा फैसला सुनाउनका लागि आवश्यक विवरण मगाएको हो। सम्पत्ति शुद्धीकरण विभागको पत्रपछि नेपाल राष्ट्र बैंकले सुमार्गीको रकम रोक्का राखेको थियो।दूरसञ्चार कम्पनी विस्तारका लागि भन्दै वैदेशिक लगानी भित्र्याउँदा राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण विभागले गैरकानुनी रुपमा रोक्का राखेको भन्दै नेपाल स्याटलाइट टेलिकमका तर्फबाट सुमार्गीले २०७४ माघ २१ गते रिट हालेका थिए।

उक्त रिटको सुनुवाई गर्दै न्यायाधीश तेजवबहादुर केसीको इजलासले माघ २३ गते चाहेको बेला निकाल्न दिन अन्तरिम आदेश जारी गरेको थियो। सुमार्गीको पैसा रोक्ने निर्णय गैरकानुनी देखिएको सर्वोच्चले भनेको थियो।रकम विदेश लैजान नपाउने र सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा असर नपर्ने गरी निवेदकले चाहेको समयमा पैसा निकाल्न भनेको थियो। पैसा रोक्ने कानुनी आधार र कारण नदेखिएको भन्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको थियो।

प्रकाशित मिति : श्रावण २३, २०७६ बिहिबार  ११ : १९ बजे