बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा आउनु उचित नहुने बताएका छन्। प्रेस चौतारी रूपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले यस्तो बताएका हुन्।
भण्डारी पार्टीको सक्रिय राजनीतिमा आउने विषयमा कुनै एमालेमा छलफल नभएको पनि उनको भनाइ छ। ‘सामान्यतयाः संवैधानिक राष्ट्राध्यक्षहरू मुलुककै अभिभावक हो। त्यस अर्थमा नेकपा एमालेको पनि अभिभावक हो उहाँहरू,’ उनले भने, ‘तर मुलुककै अभिभावक भइसकेको मान्छे, पार्टीमा प्रत्यक्ष कार्यकारी भूमिकामा फर्कने कुरा चाहिँ मैले सामान्य अवस्थामा त्यो उचित हो भन्ने म ठान्दिनँ।’
उक्त विषयमा पूर्वराष्ट्रपति भण्डारी पनि सचेत नै भएजस्तो आफूलाई लागेको ज्ञवालीको भनाइ थियो। पार्टीका अध्यक्ष केपी शर्मा ओलीको इच्छाविपरीत ओलीसँगै प्रतिस्पर्धा गर्ने गरी राजनीतिमा आउन लागेको भन्ने कुरा सही नभएको पनि उनको जिकिर थियो।
‘असामान्य अवस्था उत्पन्न भयो भने हरेक व्यक्तिको भूमिका राष्ट्रले माग्छ। त्यस्तो बेलामा छुट्टै छलफल गर्न सकिन्छ,’ ज्ञवालीले भने, ‘अहिले तत्कालै उहाँ सक्रिय राजनीतिमा फर्कनुहुन्छ अथवा केही साथीहरूले भनेजस्तो पार्टी अध्यक्षकै इच्छा विपरीत स्पर्धा नै गर्ने गरी आउन खोजेको भन्ने कुरा सही होइन। उहाँको त्यो भनाइ पनि होइन।’
भण्डारीले नै देशले मागेको बेलामा जुनसुकै भूमिकाका लागि तयार भएको भन्दै अहिले गरिएका चर्चाहरू अनुमान मात्रै भएको जिकिर गरे। ‘उहाँले नै भन्नुभएको छ, देशले माग्यो भने जुनसुकै भूमिकाका लागि तयार छु। त्यसमा हामीले कुनै छलफल ओपन पनि गरेका छैनौं। अहिले गरिएका चर्चा अनुमान मात्रै हुन्,’ ज्ञवालीले भने।
फरक प्रसंगमा ज्ञवालीले अहिले आएका अध्यादेशले निजी क्षेत्रमा उत्साह देखिएको र संसदमा दर्ता भएको सामाजिक सञ्जाल नियमनको विधेयकले गलत सूचनाबाट सबैलाई जोगाउने दलिल पेस गरेका थिए।














