काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। बिहीवार नयाँ बानेश्वरस्थित संसद् भवनमा नेताहरूबीच भेट भएको हो।
भेटमा जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादव, कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र गृहमन्त्री रमेश लेखक सहभागी थिए।
छलफलमा कांग्रेस नेताहरूले अध्यादेशको पक्षमा मतदान गर्न आग्रह गरेका थिए। छलफल सकारात्मक भएको कांग्रेसका नेताहरूको दाबी छ।
प्रतिनिधि सभा र राष्ट्रिय सभामा अध्यादेशहरू निर्णयार्थ पेस हुँदैछन्। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १स्१५ बजे बस्दैछ।
मन्त्रिपरिषद्को सिफारिसमा गत पुस १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए। पुस २९ गते थप चार वटा अध्यादेश जारी भए। माघ २ गते भूमिसम्बन्धी कानुलाई संशोधन गर्ने अध्यादेश जारी भए। यी ६ वटै अध्यादेश दुवै सदनमा पेस भइसकेका छन्। यी अध्यादेशलाई आजै पारित गराउने सत्तारुढको रणनीति छ।
प्रतिनिधि सभामा सत्तारुढ दलको बहुमत छ। तर, राष्ट्रिय सभामा अध्यादेश स्वीकृत गर्न सरकारलाई जसपा नेपालको साथ चाहिएको छ। राष्ट्रिय सभामा उपेन्द्र नेतृत्वको जसपा नेपालका तीन जना सांसद छन्। ती सांसदले जुन पक्षमा समर्थन गर्छन् त्यही पक्षको बहुमत पुग्ने अवस्था छ।














