बालश्रम शोषण प्रकरणमा एमाले सांसद शर्मामाथि मानवअधिकार आयोगले थाल्यो छानविन



काठमाडौं, ३० माघ । नेकपा (एमाले) कि नेतृ एवं लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मामाथि मानव अधिकार आयोगले अनुसन्धान अगाडि बढाएको छ ।

सांसद शर्मामाथि बालिकालाई घरेलु कामदार बनाइ श्रमशोषण गरेको आरोप छ । ती बालिकालाई केही महिनाअघि काठमाडौं महानगरपालिकाले उद्धार गरेको थियो । महानगरले सांसद शर्माविरुद्ध प्रहरीमा उजुरीसमेत दिएको थियो ।

महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि सो विषयलाई लिएर सरकारको आलोचनासमेत भएको थियो ।

आज (बुधबार) आयोगले एक विज्ञप्ति जारी गर्दै स्वविवेकीय क्षेत्राधिकारको प्रयोग गरी छानविन तथा अनुसन्धान थालेको जानकारी गराएको हो ।

सो घटनामा आयोगले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटनलाई प्रहरीबाट पेश भएको रायसहितको प्रतिवेदन ७ दिनभित्र उपलब्ध गराउनसमेत भनेको छ ।

प्रकाशित मिति : माघ ३०, २०८१ बुधबार  ७ : ४२ बजे