कुलमान घिसिङ आफूखुसी ढंगले अघि बढ्न खोजे : ऊर्जामन्त्री खड्का



काठमाडौँ( ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफूखुसी ढंगले अघि बढ्न खोजको बताएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खड्काले सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन नगरेर घिसिङ आफुखुसी ढंगले अघि बढ्न खोजको र सरकारलाई नटेरेको बताएका हुन्।

घिसिङका अराजक गतिविधिलाई सरकारले हेरेर नबस्ने र लगाम लगाउने उल्लेख गरे। राम्रो कामलाई पुरस्कार दिने भन्दै उनले सरकारका एउटा कर्मचारीको पक्षमा एक भएर बोल्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे।

मन्त्री खड्काले पटकपटक बोर्ड बैठक बोलाउँदा पनि उपस्थित नभएकाले सदस्यहरू परिवर्तन गर्नुपरेको स्पष्टीकरण दिए।

कुलमानका कारण लोडसेडिङ हटेको भन्दै भ्रम फैलाइएको उल्लेख गर्दै तत्कालीन अवस्थामा ४२५ मेगावाट विद्युत् भारतबाट ल्याउँदा लोडसेडिङ हटेको बताए। बाढीका कारण १३ अर्बको क्षति भएको भन्दै तत्कालको अवस्थामा विद्युत प्रवाहलाई सहज ढंगले सूचारु गरिएको दावी गरे।

दोधारा लम्की, बरेली, ढल्केबरलगायत आठ वटा अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्ने गरी भारत सरकारसँग सम्झौता भइ काम अघि बढेको बताए।

ऊर्जा क्षेत्रमा आवश्यक कानुन तर्जुमाका क्रममा रहेको र केही विधेयक अघि बढिसकेको जानकारी दिए।

प्रकाशित मिति : फाल्गुन ६, २०८१ मंगलबार  ३ : ५५ बजे