काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक किन बन्द गरेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डलाई प्रश्न गरेका छन्।
शुक्रबार व्यवसायी ‘राजेशकाजी श्रेष्ठ स् व्यक्तित्व र योगदान’ नामक पुस्तक विमोचन समारोहमा ओलीले भने ‘अहिले तिनै हिमायती निस्केका छन् फेरि । जे पनि बोल्न पाउनुपर्छ भनेर उफ्रेका छन्, टिकटकलाई किन प्रतिबन्ध लगाएको त त्यतिबेला ?’
उनले थपे, ‘केही मान्छेहरूले हिजो आफैले कानुनको मस्यौदा गरेका हुन् । मसँगै बसेर मस्यौदा गरेका हुन् हिजो’, प्रधानमन्त्रीले सामाजिक सञ्जाल विधेयकमा हल्ला र चर्का कुरा गरेर उफ्रने माओवादी लगायतका पार्टीहरूले हिजो टिकटकमा प्रतिबन्ध नै लगाएको बताए ।
उनले जे पनि बोल्ने नभई ठिक कुरा बोल्नुपर्ने भन्दै देशको शान्ति सुरक्षा खलबल्याउने, चिन्दै नचिनेको ठाउँमा मानिस भड्काउने र जथाभावी बोल्ने प्रवृत्ति रहेको बताए । सामाजिक सञ्जाल विधेयकमार्फत बोल्न पाउने अधिकार नमिचिने कानुन बनाउने प्रधानमन्त्रीको भनाइ छ ।
देशको विकासको गति अघि बढाउन खोजेको बताएका ओलीले कानुनसम्मत शासन हुनुपर्नेमा सुशासन चुनौती बनेको पनि बताए।
‘न्याय दिने अनुरूपका कानुन बनाउनुपर्दछ र कानुनबमोजिम सबैले चल्नुपर्दछ’, प्रधानमन्त्रीले भने, ‘कानुनको राज र सुशासन देशमा हुनुपर्छ भनेर हामी मान्छौँ ।’ उनले सुशासनबाट मात्र समृद्धिमा पुग्न सकिने र त्यो गम्भीर चुनौतीका रूपमा रहेको बताए । छिटो छरितो कानुन बनाउने काममा सरकार लागेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले आफूले स्विजरल्याण्डको बैंकमा पैसा राखेको भनेर अफवाह फैलाएको भन्दै आफूलाई त्यत्रो पैसा नचाहिने बताए । ‘एउटा रोटी र तरकारी खान्छु, मेरो किचेन र बेडरुम खुला हुन्छ, मानिसहरू गइरहेका हुन्छन्, लुकाएको केही छैन’, प्रधानमन्त्रीले भने, ‘जेसुकै बोल्ने, अपमान र अफवाह फैलाउने हाम्रो सभ्यता त्यो होइन । त्यो सभ्यता भत्काउनु हुँदैन ।’
उनले ‘तिमी’ भनेर गर्ने गरेको सम्बोधनप्रति असन्तुष्टि जनाउँदै मर्यादित भाषा प्रयोग गर्नुपर्ने पनि बताए । ‘बाउलाई बोलाउँदा ‘ओ ड्याड कम ह्यर’ जस्तो होइन हाम्रो भाषा । बुबाज्यु यता आउनुहुन्छ कि १ भन्नुपर्छ ।’














