प्रशासनले काठमाडौँमा फेरि लगायो निषेधाज्ञा,यी स्थानमा दुई महिना सभा जुलुस गर्न निषेध



काठमाडौँ– जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सिंहदरबार, नयाँ बानेश्वरलगायत विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ।

जिप्रकाले फागुन २५ गतेदेखि लागू हुने गरी काठमाडौँको सिंहदरबार क्षेत्र, संसद् भवन रहेको नयाँबानेश्वर क्षेत्र, राष्ट्रपति कार्यालय आसपासको क्षेत्र, उपराष्ट्रपति कार्यालय वरपरको क्षेत्र र प्रधानमन्त्री निवास बालुवाटार आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।

निषेधाज्ञा दुई महिनाका लागि जारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ। ती स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शनजस्ता गतिविधि गर्न नपाइने प्रशासनको भनाइ छ।

ती क्षेत्रहरुमा निषेधाज्ञा अवधिभर पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शन गर्न नपाइने बताइएको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरुको निवास तथा मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा विरोध प्रदर्शन हुँदा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्ने भएकाले निषेधाज्ञा जारी गरिएको बताइएको छ ।

‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरुको निवास तथा मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उश्रृंखल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम् हुलदङ्गा वा अशान्ति भई अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्न जानें अवस्था तथा अन्तर्राष्ट्रिय अभ्यास र यस अघि सम्मानित अदालतबाट भएको आदेश एवम् फैसला समेतलाई मध्यनजर गरी जिल्ला सुरक्षा समिति काठमाडौको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३ क) बमोजिम विगतदेखिकै निरन्तरताको रुपमा देहायको क्षेत्रमा मिति २०८१/११र२५ गतेदेखि लागु हुने गरी दुई महिनासम्मका लागि पाँच जनाभन्दा बढि व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ,’– जिप्रकाबाट जारी भएको आदेशमा भनिएको छ ।

प्रकाशित मिति : फाल्गुन २६, २०८१ सोमबार  ८ : ०५ बजे