निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागी दल दर्ताको आह्वान



काठमाडौं-

निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दल दर्ताको सार्वजनिक सूचना जारी गरेको छ।

आयोगले जारी गरेको सुचनामा इच्छुक दलले भदौ मसान्तभित्र आयोमा विवरणसहित दल दर्ता गर्नुपर्ने उल्लेख छ । नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० मा निर्वाचन पूर्व दल दर्ता गर्नुपर्ने व्यवस्था छ। यही व्यवस्थाअनुसार उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरिएको आयोगले जनाएको छ।

बिभिन्न कारणले रिक्त हुन आएका स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको उपनिर्वाचनका लागि आयोगले दल दर्ताको आह्वान गरेको हो।

२०७४ सालमा भएको प्रतिनिधिसभा, प्रदेशसभा वा स्थानीय तह निर्वाचनमा सहभागी दललाई वार्षिक लेखापरीक्षण प्रतिवेदन बुझाउन पनि आयोगले सुचना मार्फत भनेको छ।

प्रकाशित मिति : भाद्र १६, २०७६ सोमबार  ६ : ०१ बजे