पुनः सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने सरकारलाई डा. केसीको चेतावनी



भदौ २९, काठ्माण्डौ-

सामाजिक  अभियन्ता डा. गोविन्द केसीले पुनः सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने बताएका  छन्। अभियन्ता डा. केसीले आफूसँग यसअघि भएका सम्झौताअनुसार सरकारले चिकित्सा शिक्षा ऐनमा संशोधन गर्न तत्परता नदेखाएकोले फेरी आन्दोलित हुनुपर्ने अवस्था आएको बताएका हुन ।

आज पत्रकार सम्मेलन गर्दै  केसीले आन्दोलरत विद्यार्थीका माग पूरा गर्दै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सबै रकम फिर्ता गर्नुपर्ने र दोषी मेडिकल कलेजलाई कानून बमोजिम कडाभन्दा कडा कारबाही गर्नुपर्ने, संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा वृद्धि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गर्नुपर्ने ७ बुँदे  माग अघि सारेका छन्।

यस्तै, विश्वबिद्यालय पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने र सो प्रतिबेदनलाई अबिलम्ब ऐनको रूप दिनुपर्ने, विगतको सम्झौता अनुसार इलामरपाँचथर, उदयपुर, डोटीरडडेल्धुरा लगायत प्रदेश नं. २ र ४ मा पनि सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया तत्काल अघि बढाउनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस लगायतका कार्यक्रम सुरु गर्नुपर्ने, शीर्ष नेताहरु उपचारका लागि विदेश जाने अवस्था रोकिनुपर्ने र नेताहरुको उपचार खर्च पारदर्शी बनाउनुपर्ने  लगायतका मागहरु अभियन्ता डा. केसीले अघि सारेका छन्।केसीले शीर्ष नेताको उपचारका लागि विदेश जाने अवस्था राकिनुपर्ने पनि बताएका छन् । उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सार्वजनिक गरिनुपर्ने पनि माग गरेका छन ।

डा . केसीले आफ्ना मागहरुप्रती सरकार उदासिन भए पुनः सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन ।

 

प्रकाशित मिति : भदौ २९, २०७६ आइतबार  ७ : ४० बजे