कांग्रेस सांसदहरुको आधा घण्टा नाराबाजी र घेराउपछी सोमबार पनि संसद बैठक स्थगित



काठमाडौं–

नेपाली कांग्रेसले सोमबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

आफ्नो पार्टीका बाँके जिल्ला सभापति घाइते हुने गरी भएको आक्रमणमा संलग्नलाई कारबाही नगरिएको भन्दै कांग्रेसले सोमबार पनि संसद बैठक अवरुद्ध पारेको हो ।आक्रमणमा संलग्नलाई कारबाही नगरिएको भन्दै कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

सभामुख कृष्णबहादुर महराले सोमबारको संसद बैठकको कारबाही प्रारम्भ भएको घोषणा गर्नासाथ कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

आजको बैठकमा सभामुख महराले कांग्रेस सांसद पुष्पा भुसाललाई बोल्ने समय दिए पछी भुसालले घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आफ्नो भनाइ टुंग्याइन ।

त्यस  पछि बाँकेबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसद नन्दलाल रोकाले बोल्दा  कांग्रेस सांसद भुसालको भनाइप्रति आपत्ति जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएपछि नेपाली कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गरेर नाराबाजी शुरु गरेका थिए ।

कांग्रेस सांसदहरुको रोष्टम घेराउ र आधा घण्टासम्म  नाराबाजी पछी प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ । कांग्रेस सांसदहरुले आधा घण्टासम्म नाराबाजी गरेपछि सभामुख कृष्णबहादुर महराले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

प्रकाशित मिति : भदौ ३०, २०७६ सोमबार  १० : ३४ बजे