न्युजिल्यान्डका विदेशमन्त्री काठमाडौँमा



काठमाडौँ । न्युजिल्यान्डका उपप्रधान तथा विदेशमन्त्री विन्स्टन पिटर्स बुधवार काठमाडौँ आइपुगेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार जेठ १४ र १५ दुई दिन उनी काठमाडौँमा रहनेछन्।

श्रीलङ्काको भ्रमण सकेर पिटर्स नेपाल आएका हुन्। उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

प्रतिपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई पनि उनले बुधबार नै भेट्ने कार्यक्रम छ। साँझ परराष्ट्रमन्त्री आरजु राणा देउवासँग द्विपक्षीय बैठक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बिहीबार बिहान उपप्रधान तथा विदेश मन्त्री पिटर्स लुक्ला जाने र फर्केपछि काठमाडौँका विश्व सम्पदा स्थलको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ।

पिटर्स बिहीबार साँझ दिल्लीका लागि उड्ने छन्।

प्रकाशित मिति : जेष्ठ १४, २०८२ बुधबार  १ : ५४ बजे