पाँचथरमा बेलिब्रिज भाँचिदा घाइते भएका तीन जनाको मृत्यु



पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा घाइते भएका तीन जनाको मृत्यु भएको छ।

शनिवार दिउँसो बेलिब्रिज भाँचिदा घाइते भएका तीन कामदारको मृत्यु गए राति मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार बेलिब्रिज भाँचिदा घाइते भएर मृत्यु हुनेमा बाराको सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई जिल्ला अस्पतालले थप उपचारका लागि नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर रेफर गरेको थियो।

जाँचका क्रममा नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालका चिकित्सकले गए राति तीनै जनालाई मृत घोषणा गरेको प्रनाउ बुढाथोकीले जानकारी दिए।

तीन जना घाइतेको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार जारी छ।

२०८० असार २ गते आएको बाढीले हेवाखोलाको ४५ मिटर लामो सडक पुल बगाएको थियो। साउनमा सोही स्थानमा करिब ५० मिटर लामो बेलिब्रिज जडान गरिएको थियो। तर सो बेलिब्रिज गत असोज १२ गते आएको बाढीले बगायो। उक्त ठाउँभन्दा ९० मिटरमुनि नयाँ बेलिब्रिज निर्माण भइरहेको क्रममा भाँचिएको छ।

बेलिब्रिज भारत सरकारले अनुदानमा उपलब्ध गराएको थियो भने संरचना निर्माण तथा जडान रु तीन करोड ४९ लाखको लागतमा सुपर सौगात लाइट बिल्डर्स जेभीले गरिरहेको थियो।

प्रकाशित मिति : असार १, २०८२ आइतबार  १० : ४४ बजे