धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते



जनकपुरधाम– धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त भएको छ।

भिडन्तको क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्। घाइते सशस्त्र प्रहरीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। स्थिति नियन्त्रणमा लिने क्रममा चार राउड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।

धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीस्थित नेपाल–भारत सीमा नजिक भिडन्त भएको हो। धनुषाका सशस्त्र प्रहरी उपरीक्षक ‘एसपी’ निर्मल खड्काका अनुसार बिहीबार साँझ ७ बजेतिर तस्करीको समान भित्राएर आँप बगैँचामा राखेको भन्ने सूचना पाएपछि सशस्त्र प्रहरीको ३० जनाको पुगेको थियो।

सशस्त्र प्रहरी पुगेलगत्तै तस्करहरुको समूहले घरेलु हतियार, भाटा र ढुंगामुढासहित प्रहरीमाथि आक्रमण गरेका थिए।

सो क्रममा जवाफी कारबाही गर्ने क्रममा सशस्त्र प्रहरीले १३ राउण्ड अश्रुग्यास र चार राउण्ड हवाई फायर गर्नुपरेको एसपी खड्काले बताए।

प्रकाशित मिति : असार २०, २०८२ शुक्रबार  १० : ५० बजे