काठमाडौँ– घुस डिलमा नाम जोडिएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ अध्यक्षबाट अलग भएकी छन्।
पार्टीमा विवाद चलिरहेका बेला अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यबाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई दिएकी हुन्।
उनले आफू अस्वस्थ रहेको भन्दै बास्तोलाई कार्यबाहकको जिम्मेवारी दिएको बताएकी छन्।।
‘मेरो स्वास्थ्य अवस्थाका कारण पार्टीको दैनिक कार्य सञ्चालन र महत्त्वपूर्ण निर्णय प्रक्रियामा मेरो भौतिक उपस्थिति सम्भव नदेखिएकोले पार्टीको कार्यप्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले यो निर्णय गरिएको छ,’ उनले कार्यबाहक तोकिएको पत्रमा लेखेकी छन्।
पूर्वमन्त्री राजकुमार गुप्ता तानिएको घुस काण्डमा श्रेष्ठलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तानेको छ।
पोखरामा भएको जग्गाको डिल प्रकरण, मालपोतका हाकिमलगायतको विषयमा गुप्तासँगै श्रेष्ठ पनि तानिएकी हुन्।
बिचौलियासँग घुस डिल गरेको अडिओमा रञ्जिताको पनि संलग्नता भेटेपछि अख्तियारले उनलाई गत बुधबार बयानको लागि समेत बोलाएको थियो।









