राज्य व्यवस्था समितिमा नँया सभापति छान्न मुख्य सचेतकहरुसँग सभामुखले गरे छलफल



काठमाडौं । सभामुख देवराज घिमिरे र राजनीतिक दलहरुका प्रमुख सचेतक बीच कुलिङ अफ पिरियड संसदीय छानविन विशेष समितिको प्रतिवेदन कार्यान्वयनबारे छलफल भएको छ ।

मंगलवार साँझ सिंहदरबारमा प्रमुख सचेतकहरुसँग सभामुख देवराज घिमिरेले छलफल गरेका हुन् । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले छानविन समितिले दिएको प्रतिवेदनलाई कसरी कार्यान्वयन गर्ने भन्नेबारेमा छलफल भएको बताए ।

उनले कानून निर्माणको बाटोलाई कसरी गुणस्तरीय बनाउने र कमजोरीहरु अब हुन नदिन के गर्ने भन्नेबारेमा पनि छलफल भएको बताए । विधायिकी कामलाई विश्वसनिय बनाउनुपर्नेमा सबै एकमत रहेको उनले बताए ।

प्रमुख सचेतक बर्तौलाले भने, ‘छानविन समितिले रिपोर्ट पेश गरिसकेको छ । त्यसलाई अब कसरी कार्यान्वयन गर्ने, कानून निर्माणको बाटोलाई कसरी गुणस्तरीय ढंगबाट अघि बढाउने भन्नेकुरा मुख्य पाटो भयो । यस्ता कमजोरी किन भए ? दोषी हाम्रा संरचना हो की, विधायकी कार्यान्वयनमा जनशक्ति नभएको हो की ? संसदमा कानून निर्माणका लागि छुट्टै एउटा महाशाखा निर्माण गरेर विधायिकी कामलाई कसरी विश्वसनिय बनाउने भन्नेमा छलफल भयो । विभिन्न समितिमा विधेयकमाथि छलफल चलाउँछौँ, त्यसको निष्कर्ष तयार गरेर प्रतिवेदन बनाउनुपर्छ । संसदीय समितिका सचिवहरुले ठिक ढंगबाट भुमिका खेल्नुपर्छ । नत्र भने समस्या आउँछ ।’

प्रकाशित मिति : श्रावण २७, २०८२ मंगलबार  ८ : ०७ बजे