काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्ष रञ्जिता श्रेष्ठलाई नै कायम गरिदिएको छ।
नाउपाको हालैको राष्ट्रिय भेलाले लालवीर चौधरीलाई साउन १५ गते अध्यक्ष चयन गर्दै निर्वाचन आयोगमा अद्यावधिक गर्न निवेदन दिएको थियो। तर निर्वाचन आयोगले रञ्जिता श्रेष्ठलाई नै अध्यक्ष कायम गरिदिएको छ।
निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालले नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ नै रहने निर्णय आयोगले गरेको जानकारी दिइन्। आयोगले राजनीतिक दलसम्बन्धी ऐन र दलको विधान हेरेर श्रेष्ठलाई नै अध्यक्ष कायम गरेको हो।
नाउपा दर्ता हुँदा २१ सदस्यीय केन्द्रीय समितिमा लालवीर चौधरीको नाम थिएन।
लालवीर नाउपा संरक्षक रेशम चौधरीका बाबु हुन् भने रञ्जिता रेशमकी श्रीमती हुन्। श्रीमतीलाई अध्यक्ष पदबाट हटाएर रेशमले बाबुलाई अध्यक्ष बनाएका थिए तर निर्वाचन आयोगले मान्यता दिएन।









