बहुविवाहलाई कुनैपनि हालतमा मान्यता प्रदान गरिने छैनः प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई कुनैपनि हालतमा मान्यता प्रदान नगरिने बताएका छन् ।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले सामाजिक जागरण, सामाजिक न्याय, महिलाका अधिकार लढेर आएका पार्टीहरुको सरकारले बहुविवाहलाई मान्यता दिनेगरी कानून ल्याउन नसक्ने बताए ।

यसबारे सरकारलाई नै जानकारी नरहेको भन्दै यो कुनैपनि हालतमा अस्वीकार्य हुने बताए ।

उनले भने ‘हल्लाहरु चल्ने गरेका छन्, जसको आधार छैन । एउटा विषय बहुतै सेन्सेटिभ भएर उठेको देखिन्छ । बहुविवाहलाई मान्यता दिनेगरी कानून ल्याउने भयो सरकारले भनेर । सामाजिक जागरण, सामाजिक न्याय, महिलाका अधिकार लढेर आएका पार्टीहरुको सरकारले बहुविवाहलाई मान्यता दिनेगरी कानून ल्याउँछ भन्ने ? कसरी भयो । हल्ला कसले चलायो । सरकारले थाहा पाएको छैन, मैले थाहा पाएको छैन । बहुविवाहलाई मान्यता दिनेगरी कानून ल्याउन लागिएको छैन । बहुविवाहलाई कुनैपनि हालतमा मान्यता प्रदान गरिनेछैन ।’

प्रधानमन्त्री ओलीले एकतावद्ध भएर देशमा सुशासन र विकासको गतिलाई अघि बढाउन लाग्नुपर्ने बेला रहेको बताए । —न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : श्रावण २८, २०८२ बुधबार  ३ : २९ बजे