काठमाडौं। सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि झण्डै १० अर्ब रुपैयाँ निकासा गरेको छ। सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्षका लागि नौ अर्ब ८० करोड रुपैयाँ निकासा गरेको अर्थ मन्त्रालयले जनाएको छ।
“चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोजनका लागि दोस्रो त्रैमासिक अवधिमा विनियोजन रकमलाई कार्यक्रम संशोधनमार्फत प्रथम त्रैमासिक कायम गरी विगत सात वटा त्रैमासिकमा उपलब्ध गराइएको कर्जाको ब्याज अनुदान नेपाल राष्ट्र बैंकलाई शोधभर्ना उपलब्ध गराउन मन्त्रिस्तरीय निर्णय भएको, अर्थ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता टंकप्रसाद पाण्डेले जानकारी दिएका छन्।
सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत प्रवाह भएको सहुलियतपूर्ण कर्जा २०८२ असार मसान्तमा कूल ९४ हजार ९२० ऋणीलाई प्रवाह भएको ७८ अर्ब ६६ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ।
यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ३५ हजार ८६१ ऋणीलाई प्रवाह भएको ५७ अर्ब ५५ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ५७ हजार ६३६ महिला उद्यमीलाई प्रवाह भएको २० अर्ब ९ करोड रुपैयाँ कर्जा रहेको छ।
सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत १ हजार ४२३ ऋणीको १ अर्ब २ करोड रुपैयाा कर्जा बक्यौता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।














