आजदेखि नागढुंगा–मलेखु सडक दिउँसो ५ घण्टा बन्द हुने



काठमाडौं। नागढुंगा–नौबिसे-मलेखु सडक खण्ड आजदेखि पुस १ सम्म दैनिक ५ घन्टा बन्द हुने भएको छ ।

उक्त सडक खण्डमा कालोपत्र गरी स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले आंशिक रूपमा सडक बन्द गर्न लागिएको हो।

सडकखण्डमा आजदेखि आगामी पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म दैनिक पाँच घण्टा सवारीसाधन सञ्चालनमा रोक लगाइएको नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डले जनाएको छ ।

अत्यावश्यकीय प्रकृतिका एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल, शववाहन जस्ता सवारीसाधनहरुको हकमा ट्राफिक प्रहरीबाट सहजीकरण गरिने जनाइएको छ । काठमाडौंबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेक पोस्ट, मुग्लिनबाट काठमाडौं आउने सवारीसाधन खानीखोला, नौबिसे र जंगेखोला, थाक्रेमा रोक्ने गरी ठाउँ तोकिएको छ ।

नौबिसेबाट मुग्लिनतर्फ जाने सवारीसाधन गल्छी, बैरेनी र मासटारमा रोकिने छ । मुग्लिनबाट नौबिसेतर्फ आउने सवारी साधनलाई मलेखुमा रोकिने योजना कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : मंसिर २४, २०८२ बुधबार  १० : ५० बजे