देशैभर उपनिर्वाचनको गतिविधि तीव्र, कांग्रेस र नेकपा बीच मुख्य प्रतिष्पर्धा



काठमाडौं-

आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि सप्तरीमा मनोनयन दर्ता भएपछि निर्वाचनको गतिविधिसमेत तीव्र बनेको छ। सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो।

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा उक्त पदका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी नौ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए। राजनीतिक दलबाट छ र स्वतन्त्रबाट तीनजना गरी नौ जनाले मनोनयन दर्ता गराएका हुन्।

उम्मदेवारी दर्ता गर्नेमा नेकपाका तर्फबाट अच्छेलाल यादव, नेपाली काङ्ग्रेसका तर्फबाट शिवनारायण मण्डल तथा राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका तर्फबाट संयुक्त उम्मेदवार प्रमिलादेवी यादव छन्।

राजपाका जिल्ला संयोजक हरेराम यादव र समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदारप्रसाद यादवले संयुक्त विज्ञप्ति जारी गर्दै चुनावमा सहकार्य गर्ने उद्देश्यले दुवै पार्टीको संयुक्त उम्मेदवार उठाउने सहमति भएको बताएका छन्।

यस्तै राप्रपाबाट गजेन्द्र मण्डल, नेपाल लोकतान्त्रिक पार्टीबाट सकलदेव साह र सिके राउत नेतृत्वको जनमत पार्टीबाट दिनेशकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै स्वतन्त्ररूपमा उम्मेदवारी मनोनयन दर्ता गर्नेमा धीरेन्द्रकुमार यादव, नुरहुसेन मन्सुरी र रञ्जीतकुमार यादव रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा राजपाबाट वडाध्यक्ष पदमा निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो। सो वडामा ६४६ महिला तथा ७५७ पुरुष गरी कूल एक हजार ४०३ मतदाता छन्।

उपनिर्वाचनका लागि छिन्नमस्ता–७ हाटीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा (क) र (ख) गरी दुई मतदान केन्द्र कायम गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यसैबीच स्थानीय तहको उपनिर्वाचनका लागि मनोनयन दर्ता भएसँगै सप्तरीमा पनि चुनावी वातावरण तातिएको छ। अहिले विभिन्न राजनीतिक दलका कार्यकर्ता मत माग्न घरदैलो अभियानमा जुटेका छन्। उनीहरुले आफ्नो उम्मेदवारलाई विजयी बनाउन र जिताउन चुनावी अभियानलाई निरन्तरता दिएका हुन्।

यसैबीच वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका एक जनाको उम्मेदवारी रद्द भएको छ। उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये स्वतन्त्र उम्मेदवार रञ्जीतकुमार यादवको मनोनयन रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यादवको उमेर १९ वर्ष मात्र पुगेकाले मनोनयन रद्द गरिएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले बताए।

स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०७६ अनुसार स्थानीय तहको अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख वा वडाध्यक्ष पदका लागि उम्मेदवार हुन चाहने व्यक्ति नेपाली नागरिक भएको र २१ वर्ष उमेर पुगेको हुनुपर्नेछ। यादवको मनोनयन रद्द भएपछि वडाध्यक्ष पदमा आठजनाको उम्मेदवारी कायम भएको छ।

भोजपुर स् भोजपुरमा उपनिर्वाचनले तीव्रता पाएको छ। बुधबार मनोनयन दर्ताभएसँगै नेता तथा कार्यकर्ता आफ्नो दलको उम्मेदवारलाई जिताउनका लागि जुटेका छन् । भोजपुरमा पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा वडाध्यक्षका लागि निर्वाचन हुँदैछ। उक्त पदका लागि नेपाल कम्युनिष्ट पाटी (नेकपा)का तर्फबाट जीतेन्द्र राई, नेपाली काङ्ग्रेसको तर्फबाट समरबहादुर कार्की र मङ्गोल नेशनल अर्गनाइजेशनका तर्फबाट कला राई गरी तीनवटा दलको मात्र उम्मेदवारी परेको छ। यहाँ मुख्य प्रतिस्पर्धा नेकपा र काङ्ग्रेसबीच देखिएको छ।

यसअघि २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा यो वडामा नेपाली काङ्ग्रेसले जीत हासिल गरेको थियो। तर दुई पार्टीको एकता भएपछि भने यहाँ नेकपाको बलियो पकड देखिएको छ। पौवादुङमा–१ मा नेपाली काङ्ग्रेसका उम्मेदवारले ४३४ मत ल्याएर विजयी बनेका थिए भने तत्कालीन नेकपा एमालेका उम्मेदवारले २३९ मत ल्याएको देखिन्छ।

त्यस्तै तत्कालीन नेकपामा माओवादीले २२७ मत ल्याएको थियो। सो समयमा दलहरुले एकलरूपमा प्रतिस्पर्धा गरेका गरेका थिए। तर अहिले दुई कम्युनिष्ट पार्टी मिलेसँगै त्यहाँ नेकपा उम्मेदवारको पक्षमा मत देखिन्छ। यसअघिको निर्वाचनमा दुई पार्टीका उम्मेदवारले ल्याएको जम्मा मत ४६६ रहेको छ । जुन त्यस समयमा काङ्ग्रेसले ल्याएको मतभन्दा ३२ मत बढी हो।

यो उपनिर्वाचनमा ८९२ महिला र ७७४ जना पुरुष गरी एक हजार ६१६ मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

लमही स् दाङ क्षेत्र नं ३ (ख) को प्रदेशसभा सदस्यको उपनिर्वाचनको वातावरण तातिएको छ । निर्वाचनमा सहभागी सबै दल प्रचारप्रसारमा व्यस्त छन्। चुनाव आफ्नो पक्षमा पार्न विभिन्न स्थानमा सभा, घरदैलो कार्यक्रमका साथै प्रचारप्रसारलाई दलहरुले तीव्रता दिएका छन्। कोही घरदैलोमा छन् भने कोही सभामा छन्।

पश्चिम दाङका चौतारा तथा चियापसलदेखि खेतबारीसम्म चुनावी बहस हुनाका साथै चुनावमय भएका छन्। सानासाना समूह बनाएर घरदैलो गर्नेदेखि चियापसलमा चुनाव आफ्नो पक्षमा पार्न दलका कार्यकर्ता तथा नेताहरुले मतदाताहरुलाई बुझ्ने र बुझाउने काम भइरहेको छ। जिल्लाका ठूला दुई दलदेखि अन्य चुनावमा भाग लिएका दलका केन्द्रीय नेता, जिल्ला नेता तथा कार्यकर्ताहरु पश्चिम दाङमा केन्द्रित भएका छन्।

विभिन्न स्थानमा सम्पर्क कार्यालयहरु खोलिएको छ । त्यस्तै गाडीहरुमा झण्डा फरफराउँदै नेता तथा कार्यकर्ताहरु पश्चिम दाङमा हुइँकिने गरेका छन्। सर्वसाधारणहरु भने केही खेतीबाली स्याहार्न व्यस्त छन् भने केही चुनावको प्रचारमा लागेका छन्। खेतबारीमा पनि चुनावको बहस नै हुने गरेको छ ।

सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै ठाउँठाउँमा सुरक्षाकर्मीहरुले चेकपोष्ट स्थापना गर्नाका साथै मोबाइल गस्तीलाई समेत बढाएका छन्। “पश्चिम दाङ चुनावमय भएको छ, सबै नेता तथा कार्यकर्ताहरु यहीँ केन्द्रित छन्”, स्थानीयवासी गङ्गा केसीले भनिन्। उपनिर्वाचनमा आफूहरुले चाहेको उम्मेदवारलाई मत दिन आफूहरु आतुर भएको उनले बताए।

त्यस्तै स्थानीयवासी मुना बुढाथोकीले पनि पश्चिम दाङमा चुनावी वातावरण तातिएको बताए। उनले दैनिक गाडी, मोटरदेखि सबै दाङमा क्रियाशील दलका नेता तथा कार्यकर्ताहरु पश्चिम दाङमा आउने गरेको बताए।

त्यस्तै सबै दलका उम्मेदवारहरुले आफूहरुले जित्ने दाबी गर्दै आएका छन्। उपनिर्वाचनमा नेपाली काङ्ग्रेसबाट केशवकुमार शर्मा आचार्य, नेकपाबाट विमला कुमारी खत्री (वली), राप्रपाका तर्फबाट भुपाल रावत, साझा पार्टीबाट शिवकुमार चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट धनराज सुनार, नेपाल मजदूर किसान पार्टीबाट सुरेश परियार, राप्रपा संयुक्तबाट छोटीलाल थारू, नेकपा मालेबाट हरिप्रसाद डाँगी, समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी, मङ्गोल नेशनल पार्टीबाट घनश्याम चौधरी, लोकतान्त्रिक पार्टीबाट झरेन्द्रबहादुर खत्री, नेपाली काङ्ग्रेस (बिपी)बाट दीपककुमार धितालले उम्मेदवारी दिएका छन्। दाङ क्षेत्र नं ३ (ख) का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको दुर्घटनामा परी निधन भएपछि सो स्थानमा उपनिर्वाचन हुन लागेको हो।

फिदिम स् एक गाउँपालिका प्रमुख र दुई वडाध्यक्ष पदमा उपनिर्वाचन हुने भएपछि पाँचथरमा चुनावी गतिविधि बढेको छ । विगतका निर्वाचनमा झैँ यो उपनिर्वाचनमा पनि समृद्धि दलहरुको मुख्य एजेन्डा बनेको छ। यस अतिरिक्त पहिचानको सवालसमेत उठिरहेको छ।

करिब दुई वर्ष प्रदेश नं १ र सङ्घीय सरकार सञ्चालन गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भने पाँचथर विकास र समृद्धिका सवालको व्यवहारमा उत्तर दिन थालेको छ। यहाँ ठूला विकास आयोजना अघि बढ्नाका साथै स्थानीयवासीको मागका आधारमा मझौला र साना विकास योजनाका लागि प्रशस्त बजेट छुट्टिन थालेको छ। विशेषतः पूर्वाधार विकासका कार्य अघि बढेपछि नेकपाले तथ्याङ्कमै अन्य दललाई जवाफ दिन थालेको हो।

जिल्लाको फाल्गुनन्द गाँउपालिकाको प्रमुख पदमा हुने उपनिर्वाचनलाई दुई मुख्य दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेसले प्रतिष्ठाको विषय बनाएका छन्। विगतमा यहाँ काङ्ग्रेसका अमरकुमार नेम्वाङ गाउँपालिका प्रमुख थिए। उनको निधनपछि यहाँ उपनिर्वाचन हुन लागेको हो। यस गाउँपालिकामा पहिचान पक्षधर समाजवादी पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको उपस्थितिसमेत सशक्त छ।

प्रकाशित मिति : कार्तिक २९, २०७६ शुक्रबार  ५ : २८ बजे