कला, लैङ्गिकता र समुदायमा केन्द्रित १२ परियोजनालाई ब्रिटिस काउन्सिलको अनुदान



काठमाडौं । ब्रिटिस काउन्सिलले लैङ्गिक समानताको सवाललाई सम्वोधन गर्ने तथा समाजमा कम प्रतिनिधित्व भएका आवाजलाई मुखरित गर्ने नवीनतम सृजनालाई सहयोग गर्ने उद्देश्यसहित नेपालका कलाकर्मी, एक–आपसमा मिलेर कला सिर्जना गर्ने व्यक्ति र संस्थाका गरी १२ वटा कला परियोजनाका लागि अनुदान प्रदान गरेको छ ।

सृजनात्मक अभ्यासलाई सबल बनाउन र जनसहभागितालाई प्रोत्साहन गर्न तथा लैङ्गिकता, कला र संस्कृतिका विविध पक्षको संयोजन कार्यमा संलग्न अभ्यासकर्तालाई सहयोग गर्न कला र लैङ्गिकतासम्बन्धी “इक्वेल टुगेदर” कार्यक्रम अन्तर्गत कूल ८४ लाख ८२ हजार ७०० रुपैयाँ बराबरको अनुदान प्रदान गरिएको हो ।

यस बर्ष अनुदान प्राप्त गर्नेहरुमा विविध सिर्जनात्मक अवधारणा र समुदाय केन्द्रित परियोजनालाई प्रतिनिधित्व गर्ने ८ जना कलाकर्मी र चार वटा संस्था छन् । उनीहरुले न्युनतम ६ लाख रुपैयाँदेखि अधिकतम १० लाख रुपैयाँसम्मको अनुदान प्राप्त गरेका छन् ।

अनुदान रकम बाहेक ती कलाकर्मी र संस्थाले कला क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने सत्रमा सहभागी हुन पाउनेछन् । त्यसैगरी, सृजनात्मक विकास, परियोजना कार्यन्वयन र दर्शकको सहभागिता लगायत बिषयबारे सिक्ने अवसर उनीहरुलाई प्रदान गरिनेछ ।

अनुदानको अवधि अर्थात् सन् २०२६ को जनवरीदेखि जूनसम्म अनुदान प्राप्त गर्ने कलाकर्मी र संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्नेछन् । यस अवधिमा काठमाडौं र नर्दन आयरल्याण्डको बेलफास्ट शहर क्वेयर समुदायलाई चित्रण गरिएको कमिक (हास्य सामाग्री) प्रदर्शनी, जनकपुरमा स्थानीय समुदायले तयार पारेको मिथिला कलासम्बन्धी पदयात्रा तथा दमक र काठमाडौंमा महिला र क्वेयर समुदायका हास्य कलाकारको स्ट्यान्ड–अप कमेडी कार्यक्रम हुनेछ । त्यस्तै, फिल्म, नाटक, बाल पुस्तक र स्थानीय समूहसँगको सहभागितामा तयार पारिएको समुदायमा आधारित कलाको प्रदर्शनी समेत हुनेछ ।

अनुदान घोषणा गर्दै ब्रिटिस काउन्सिलका राष्ट्रिय निर्देशक (कन्ट्री डाइरेक्टर) रुस्तम मोदीले भने,“ यहाँका कला र संस्कृतिले लामो समयदेखि समुदायलाई आत्म चिन्तन गर्न, चासो प्रकट गर्न र जिज्ञासा राख्न तथा आपसमा जोडिन सहयोग गर्र्दै आएका छन् । इक्वेल टुगेदर कार्यक्रमले लैङ्गिक मुद्धाका सबै खाले जटिलतालाई कलामार्फत उजागर गर्ने कार्यमा संलग्न अभ्यासकर्तासँग सहकार्य गर्न हामीलाई सक्षम बनाएको छ । यो समूहका परियोजनाहरुले नेपालको विविधतायुक्त परिवेश र सन्दर्भमा सार्थक र महत्वपूर्ण सम्वादलाई सृजनात्मक अभ्यासले कसरी मद्धत गर्न सक्छन् भन्नेबारे देखाउन सक्छन् ।”

इक्वेल टुगेदर नेपालमा कला, संस्कृति र लैङ्गिक सवालका अन्र्तसम्वन्धित बिषयमा काम गर्ने सृजनात्मक/रचनात्मक अभ्यासकर्तालाई सहयोग गर्ने ब्रिटिस काउन्सिलको एक विशेष पहल हो ।

क्षमता विकास, विज्ञहरुबाट रायसुझाव (मेन्टरसीप) र सर्वसाधारणको संलग्नता तथा वुमन अफ द वल्र्ड फेस्टिभल जस्तो प्लेटफर्ममा कलाकर्मीको प्रस्तुतिका लागि अवसर प्रदान गर्न यो कार्यक्रम केन्द्रित छ । सन् २०२३ मा शुभारम्भ गरी नेपालका २९ स्थानमा काम गरिरहेका १४ व्यक्ति र संस्थालाई अनुदान प्रदान गरिएको जेन्डर ग्रान्ट प्रोग्रामको सफलतापछि इक्वेर टुगेदर कार्यक्रम सञ्चालन गरिएको हो ।

ब्रिटिस काउन्सिलको ग्लोवल कल्चर स्ट्राटेजी
विश्वव्यापी चुनौतीलाई साँस्कृतिक माध्यमबाट सम्वोधन गर्ने ब्रिटिस काउन्सिलको विश्वव्यापी ढाँचा अन्तर्गत इक्वेल टुगेदर कार्यक्रम सञ्चालन भइरहेको छ, यसले दीगो विकासका लागि संस्कृतिको योगदानलाई प्रवद्र्धन गर्दछ । यस कार्यक्रमले समावेशीता, दीगोपन र जलवायुप्रति संवेदनशील साँस्कृतिक अभ्यासलाई प्रवद्र्धन गर्दै सामाजिक र वातावरणीय मुद्धालाई सम्वोधनमा कलाकर्मीलाई सहयोग गर्दछ ।

प्रकाशित मिति : माघ २६, २०८२ सोमबार  ३ : १० बजे