प्रधानमन्त्री ओली उपचारका लागि ग्रान्डी इन्टरनेशनल अस्पतालमा



काठमाडौं –

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वास्थ्योपचारका लागि ग्रान्डी इन्टरनेशनल अस्पताल पुगेका छन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली ग्रान्डी अस्पताल गएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीको मिर्गौलाको डाइलाइसिस गर्नुपर्ने हुन सक्ने बताइएको छ ।

यसअघि १३ कार्तिकमा ग्रान्डी अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको १४ कार्तिकमा मिर्गौलाको डाइलाइसिस गरिएको थियो ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । तर उनकाे मृर्गौलाको पछिल्लाे समय समस्या देखिएकाे छ ।

प्रधानमन्त्री ओली १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । २७ साउन स्वदेश फर्किएका उनले ५ भदौमा फेरि सिंगापुर पुगेर फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत उपचार गराएका थिए ।

पछिल्लोपटक उनको डायलाइसिस थालिएको छ । डायलासिसले नभएमा पुनः मृर्गौला नै प्रत्यारोपण गराउने विषयमा पनि चिकित्सकहरूले छलफल गरिरहेका छन् ।

प्रकाशित मिति : कार्तिक ३०, २०७६ शनिबार  ७ : १७ बजे