खोटाङ –
मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्र सम्पन्न भएको छ।
एशियाली विकास बैंक ९एडिबी० को आर्थिक सहयोगमा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित रत्नपार्कदेखि त्रिधार्मिकस्थल हलेसीसम्मको ३६ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको हो।
एडिबीको रु ४६ करोड ८९ लाख ९२ हजारको लगानीमा साढे छ मिटर फराकिलो पारिएको सो दिक्तेल–हलेसी सडकमा साढे पाँच मिटर चौडाइ कालोपत्र गरिएको आयोजना प्रमुख विजयकुमार थापाले बताए। थापाका अनुसार तीन भागमा विभाजन गरेर कालोपत्र गरिएको हो।
तीन वर्षभित्र सम्पन्न गर्ने गरी विसं २०७१ जेठ १६ गते ठेकेदार कम्पनीसँग सम्झौता भए पनि दुई वर्ष ढिलो गरेर पाँच वर्षमा मात्रै कालोपत्र सम्पन्न भएको छ। विसं २०७२ वैशाखमा गएको भूकम्प तथा भारतीय नाकाबन्दीलगायतका कारण तोकिएको मितिमा काम सम्पन्न गर्न नसकिएको ठेकेदार कम्पनीले जनाएको छ।
राजधानी काठमाडौँलगायत तराईका विभिन्न जिल्ला आवतजावत गर्न तथा दैनिक उपभोग्यवस्तु ढुवानीका लागि प्रयोग गरिने दिक्तेल–हलेसी सडक कालोपत्र सम्पन्न भएपछि जिल्लावासीसमेत हर्षित भएका छन्। विसं २०६४ बाट कच्ची अवस्थामा सञ्चालन हुँदै आएको सो दिक्तेल–हलेसी सडक हिउँदभर सञ्चालन हुने र वर्षा लाग्नासाथ करीब छ महिना बन्द हुने गरेको थियो।
हिउँदमा धुलो र बर्खायाममा हिलोका कारण कष्टप्रद यात्रा गर्ने पैदलयात्रीलाई समेत सडक कालोपत्र भएपछि यात्रा गर्न सहज भएको छ। कच्ची अवस्थामा सञ्चालन भएको लामो समयपछि दिक्तेल–हलेसी सडक कालोपत्र भएसँगै जिल्लामा दैनिक उपभोग्यवस्तुको मूल्यसमेत केही मात्रामा घटेको उपभोक्ताहरूले बताएका छन्।
छिमेकी जिल्ला भोजपुर हुँदै किमाथाङ्का जोड्ने सो सडक समयमा सम्पन्न गर्न तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत अनुगमनका क्रममा ठेकेदार कम्पनीका प्रतिनिधिलाई भेला गरेर चाँडो सम्पन्न गर्न निर्देशन दिएका थिए ।
यद्यपि, जिल्लाको प्रमुख मार्गमा दिक्तेल–हलेसी सडक कालोपत्रको काम भने गुणस्तरीय नभएको सर्वत्र गुनासो छ। कालोपत्र गर्नुअघि सडकमा बिच्छ्याइएको रोडारढुङ्गा कमसल प्रयोग गरिएका कारण गुणस्तरहीन भएको प्रत्यक्षदर्शीले आरोप लगाएका छन्।
प्रहरी प्रशासनकै आँखा अगाडि दिक्तेल–हलेसी सडक कालोपत्र गुणस्तरहीन बनेकोप्रति अहिलेसम्म कसैले ध्यान नदिएको स्थानीयवासीले बताएका छन्।
ठेकेदार कम्पनीले भने मापदण्डअनुसारको निर्माण सामग्री प्रयोग गरेको दाबी गरेका छन्। कालोपत्र गर्नुअघि सडकको बीचबाट दायाँबायाँ साढे सातरसाढे सात मिटर जग्गाको मुआब्जा जग्गा धनीलाई वितरण गरिएको थियो।
आयोजना प्रमुख थापाका अनुसार सडक आसपासमा रहेका १०८ घरपरिवारलाई मुआब्जा दिएर हटाउनुका साथै ९०७ जग्गाधनीलाई मुआब्जा दिइएको हो। रासस










