सीमित समूहले पुँजी बजारमा इन्साइडर ट्रेडिङ गर्दै जनताको १५–१६ अर्ब दुरुपयोग गरे: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले केही सीमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ तथा जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेर अकुत सम्पती आर्जन गरेको आरोप लगाउँदै आर्थिक र राजनीतिक संस्थामाथि समेत प्रभाव जमाउने प्रयास भएको बताएका छन् ।

मंगलवार अर्थ समिति बैठकमा बोल्दै उनले विगत केही वर्षमा वित्तीय तथा आर्थिक संस्थाहरू निश्चित व्यक्तिहरूको कब्जामा गएको कटु यथार्थ स्वीकार गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।

अर्थमन्त्री वाग्लेका अनुसार यस्ता गतिविधिले आर्थिक क्षेत्रमा मात्र नभई मुलुकका राजनीतिक संस्थाहरूमा समेत नकारात्मक प्रभाव पारेको छ।

“विगत केही वर्षमा वित्तीय तथा आर्थिक संस्थाहरू केही व्यक्तिको कब्जामा गएको यथार्थ हामीले स्वीकार गर्नुपर्छ,” उनले भने, “जनताको अर्बौँ रुपैयाँ दुरुपयोग गरेर अकुत सम्पत्ति जम्मा गर्नेहरूले राजनीतिक नेतृत्वलाई समेत प्रभावित पार्ने प्रयास गरेका थिए।” यस्ता समूहले देशका आर्थिक र राजनीतिक संरचनालाई कमजोर बनाएको उनको टिप्पणी थियो।

मन्त्री वाग्लेले हालको राजनीतिक परिवर्तनलाई ‘जेन(जी आन्दोलन’ को परिणामका रूपमा व्याख्या गर्दै यसले मुलुकलाई गलत दिशामा जानबाट जोगाएको बताए।

सरकारले अब सुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको धारणा उद्धृत गर्दै भने, “पहिलो वर्ष सुशासनमा केन्द्रित हुनेछौं, त्यसपछि विकास निर्माणले स्वतः गति लिने आधार तयार हुनेछ।”

पुँजी बजारलाई पारदर्शी, व्यावसायिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्ने सरकारको लक्ष्य रहेको अर्थमन्त्रीले स्पष्ट पारे।

प्रकाशित मिति : बैशाख २९, २०८३ मंगलबार  १ : ११ बजे