काठमाडौं। नेपाल सरकारले देशभर सबै प्रकारका नयाँ सार्वजनिक सवारी साधनहरूको दर्तामा तत्कालका लागि पूर्ण रोक लगाएको छ ।
यातायात व्यवस्था विभागले सात वटै प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र देशभरका स्थानीय तहहरूलाई परिपत्र जारी गर्दै अर्को सूचना नभएसम्मका लागि नयाँ दर्ता रोक्न निर्देशन दिएको हो ।
विभागकाअनुसार सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा अत्यधिक वायु प्रदूषण, सवारी चाप तथा ट्राफिक जाम बढ्दै गएको छ। साथै इन्धनको मूल्यवृद्धिका कारण सार्वजनिक यातायात क्षेत्रमा थप असहजता सिर्जना भएकाले यस्तो निर्णय लिनुपरेको जनाएको छ।
‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ उपदफा (३) अनुसार वातावरण प्रदूषण, सवारी चाप, सडकको अवस्था वा सार्वजनिक हितसँग सम्बन्धित कारणले आवश्यक ठानेमा सवारी दर्ता रोक्का गर्न सकिने कानुनी व्यवस्था रहेको विभागले उल्लेख गरेको छ।
विभागले जारी गरेको पत्रमा सार्वजनिक सवारीसाधनसँगै विद्युतीय सार्वजनिक सवारीसाधनको समेत नयाँ दर्ता तत्कालका लागि रोक्का गर्न भनिएको छ।















