आजको मौसम: पूर्वी र मध्य क्षेत्रमा वर्षाको सम्भावना, पश्चिम तराईमा ‘लु’ को जोखिम



काठमाडौं। नेपालमा हाल मौसमको दोहोरो प्रभाव देखिएको छ, जसका कारण देशका विभिन्न भागमा फरक(फरक मौसमी गतिविधि भइरहेका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको अधिकांश हिस्सा र लुम्बिनी प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको स्पष्ट प्रभाव रहेको छ।

यसैगरी, देशका बाँकी पश्चिमी भूभागहरूमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम छ। यही वायुको प्रभावका कारण अहिले देशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ भने तराई क्षेत्रमा आंशिक बादल लागेको छ।

आज दिउँसोको मौसम राष्ट्रिय रूपमा निकै विविधतायुक्त रहने अनुमान गरिएको छ। देशका हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बदली हुनेछ।

मौसमविद्हरूका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने आज दिउँसो मौसम मुख्यतया सफा रहनेछ। यसैबीच, देशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

तराईतर्फ कोशी प्रदेशका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ। वर्षाको सम्भावना भइरहँदा पश्चिममा भने गर्मीको चर्को प्रकोप देखिनेछ, जहाँ लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा तातो लहर अर्थात् ‘लु’ चल्ने सम्भावना छ भने बागमती र गण्डकीका तराई क्षेत्रमा पनि अत्यधिक गर्मी हुनेछ।

आज रातिको समयमा पनि मौसममा यस्तै मिश्रित गतिविधि सुचारु रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कोशीको तराई क्षेत्रमा साधारणतया बदलीकै स्थिति रहनेछ।

मधेश प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने भए पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा भने रात्रिकालीन मौसम मुख्यतया सफा रहनेछ।

राति कोशी र गण्डकीका हिमाली तथा पहाडी भूभागका थोरै स्थान र बागमतीका एक(दुई स्थानमा मेघगर्जनसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना औँल्याइएको छ। यसैगरी, कोशीको तराईका थोरै स्थान तथा मधेश प्रदेशका एक-दुई स्थानमा राति पनि मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुन सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित मिति : असार ११, २०८३ बिहीबार  ७ : ३९ बजे