जनकपुरधाम –
धनुषामा भएको शक्तिशाली बम बिस्फोटनमा परेर प्रहरी निरीक्षक सहित तीन जनाको मृत्यु भएको घटनामा ‘विप्लव’ समुहको हात हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
प्रहरी इन्सपेक्टरसहित ३ जनाको ज्यान जाने गरी भएको बम बिस्फोट घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका तीन स्थानीय नेता रहेका छन् ।
पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश नम्बर २ संयोजक ५१ वर्षिय सीतादेवि महरा, केन्द्रीय सदस्य ४१ वर्षिय ललिता महरा र रामसोभित गाहा रहेका छन् ।
महेन्द्रनगर घर भएका तथा विप्लव समुहमा आबद्ध रहेका एक जना व्यक्तिमाथी प्रहरिले घटना घटाएको मुख्य आशङ्का गरेको छ, उनलाई समेत पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याईएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी स्रोतका अनुसार मृतक राजेशले ब्याजमा रुपैयाँ पैसाको लगानी गर्ने गर्थे ।
जस मध्ये विप्लव समुहमा लागेका व्यक्तिहरुलाई समेत उनले लेनदेन गर्ने गरेका थिए ।
विप्लव समुहमा लागेको मानिसलाई दिएको रुपैयाँ असुली गर्नका लागि ताकेता गर्दै बढी नै दबाब दिएको हुन सक्ने तथा सोही रिसिवीका कारण बम उनको घरमा झुन्ड्याएको हुन सक्ने कोण बाट अनुसन्धान समेत थालिएको अनुसन्धानमा संलग्न ती प्रहरीले जानकारी दिएका छन् ।
यसै बिच धनुषा बम विस्फोटमा मृत्यु भएका प्रहरी निरीक्षक अमिर कुमार दाहालको शव काठमाडौं लैजाने तयारी भएको छ।
जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित राजेश्वर साहको घरमा अज्ञात समूहले राखेको बम विस्फोटमा घाइते भएका दाहालको जनकपुरमा उपचार हुन नसकेपछि धरान ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको भएको थियो।
संखुवासभाको मादी पुर्खौली घर भएका दाहाल पछिल्लो समय काठमाडौंको जोरपाटीमा बसाई सरेका थिए। दाहालको शव परिवारलाई जिम्मा लगाउन हेलिकप्टरबाट काठमाडौं लाने तयारी भइ रहेको छ ।










