काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले भोटेकोशीमा आएको आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सरकार, सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा सम्पूर्ण नागरिक समाज एकजुट भएर प्रभावितहरूको साथमा उभिनुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ज्ञवालीले विपद्को समयमा सबै एकजुट भएर प्रभावितहरूको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले प्रभावितहरूलाई एक्लो महसुस हुन नदिई विपद्को सामना गर्न सबैलाई एकताबद्ध हुन आग्रह गरेका छन्।
घर, व्यवसाय, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले तीव्र उद्धार, राहत, उपचार तथा प्रभावित परिवारको संरक्षणलाई तत्कालको पहिलो प्राथमिकता बनाउनुपर्ने बताएका छन्।
सीईओ ज्ञवालीले सामाजिक सञ्जालमा लेखेका छन्, “सरकार, सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा सम्पूर्ण नागरिक समाज एकजुट भएर प्रभावित दाजुभाइ तथा दिदीबहिनीको साथमा उभिनुपर्ने समय हो।एक्लो छैन। विपद्मा हामी सबै सँगै छौँ।ईश्वरले सबैलाई धैर्य प्रदान गरून् र हराइरहनुभएकाहरूको सकुशल उद्धार होस्।”









