काठमाडौं । दार्चुलाको अपिहिमाल गाउँपालिका(१ भट्टारमा पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाव सामान्य भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
आज दिउँसो खसेको पहिरोले केही समय चौलानी नदी आंशिक थुनिएकामा केहीबेरपछि सामान्य अवस्थामा नै खुलेको थियो। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले अहिले चौलानी नदी सामान्य अवस्थामा बग्न थालेको सूचना पाइएको जानकारी दिए।
पहिरोले अपिहिमाल आधार शिविर जाने मार्ग भने अवरुद्ध गरेको उनले जानकारी दिए। अहिले पहिरो झर्नेक्रम रोकिएको छ, थुनिएको नदी खुलिसकेको छु, उनले भने।
सो ठाउँमा विगतमा पनि पहिरो गएको उनले सुनाए। पहिरोबाट नजिकैको बस्ती जोखिममा परेको छ। यद्यपि, आजको पहिरोले बस्तीमा क्षति पुगेको छैन। सो क्षेत्रबाट माथि अपिहिमालको आधार शिविर पर्दछ।
यसअघि पहिरो खसेर सो नदी केही थुनिएको सूचना प्राप्त हुनेबित्तिकै जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचित गरेको थियो। रासस









