हरितगृह ग्यास उत्सर्जनलाई बुझ्ने र व्यवस्थापन गर्ने कुमारी बैंकको प्रतिबद्धता



काठमाडौं । कुमारी बैंक लिमिटेड वित्तीय संस्थाहरूका लागि कार्बन लेखांकनसम्बन्धी विश्वव्यापी पहल (पीसीएएफ) मा आबद्ध भएको छ। बैंकले यस पहलमा आबद्ध भएसँगै आफ्नो ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जन बुझ्ने र व्यवस्थापन गर्ने विश्वव्यापी रूपमा मान्यता प्राप्त मापदण्ड र विधि प्रयोग गर्ने प्रतिबद्धता जनाएको छ।

पीसीएएफमा आबद्ध भएपछि बैंकले जलवायु परिवर्तनसँग सम्बन्धित तथ्यांक, जोखिम व्यवस्थापन तथा दिगो वित्तसम्बन्धी अभ्यासलाई थप सुदृढ बनाउने जनाएको छ। बैंकले आफ्ना ऋण तथा लगानी गतिविधिबाट वातावरणमा पर्ने प्रभाव बुझ्ने क्षमता अभिवृद्धि गर्दै त्यसबाट प्राप्त जानकारीलाई भविष्यका वित्तीय निर्णय, जोखिम व्यवस्थापन तथा दिगोपनासम्बन्धी पहलमा उपयोग गर्ने लक्ष्य लिएको छ।

कुमारी बैंकका दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले पीसीएएफमा आबद्ध हुनु बैंकको दिगोपनासम्बन्धी यात्राको महत्वपूर्ण उपलब्धि भएको बताए।

उनले बैंकका वित्तीय गतिविधिसँग सम्बन्धित उत्सर्जनको अवस्थाबारे जानकारी प्राप्त हुँदा जलवायु रणनीति सुदृढ गर्न, पारदर्शिता बढाउन तथा न्यून–कार्बन र जलवायु उत्थानशील अर्थतन्त्रतर्फ अघि बढ्न तथ्यमा आधारित निर्णय लिन सहयोग पुग्ने बताए।

बैंकले दिगो वित्तका अवसर विस्तार गर्नुका साथै आफ्ना सञ्चालन तथा वित्तीय गतिविधिमा वातावरणीय र जलवायुसम्बन्धी पक्षलाई थप एकीकृत गर्ने जनाएको छ। साथै, नेपालको दीर्घकालीन जलवायु तथा विकाससम्बन्धी प्राथमिकतामा योगदान पुर्‍याउन सरोकारवालासँगको सहकार्यलाई निरन्तरता दिने बैंकको भनाइ छ।

वित्तीय संस्थाहरूको ऋण तथा लगानीमार्फत हुने हरितगृह ग्यास उत्सर्जनको एकरूप रूपमा मापन तथा खुलासा गर्न सहज बनाउने उद्देश्यले वित्तीय संस्थाहरूको कार्बन लेखांकनसम्बन्धी विश्वव्यापी पहल सन् २०१९ को सेप्टेम्बरमा स्थापना भएको हो। हाल ७०० भन्दा बढी वित्तीय संस्था यस पहलमा आबद्ध भइसकेका छन्।

यस पहलमा आबद्ध वित्तीय संस्थाहरूले संयुक्त रूपमा वित्तीय क्षेत्रका लागि हरितगृह ग्यास लेखांकन तथा प्रतिवेदनसम्बन्धी विश्वव्यापी मापदण्ड विकास तथा कार्यान्वयन गर्दै आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन र सार्वजनिक खुलासा गर्ने गर्छन्।

कुमारी बैंकले देशभर २७९ शाखा, २८६ एटीएम, ४१ एक्सटेन्सन काउन्टर, ४० शाखारहित बैंकिङ इकाइ तथा १,२२३ पीओएस टर्मिनलमार्फत बैंकिङ सेवा दिँदै आएको जनाएको छ। बैंकले ग्राहककेन्द्रित नवीनता, जिम्मेवार बैंकिङ तथा दिगो वित्तमा केन्द्रित हुँदै नेपालको दीर्घकालीन आर्थिक रूपान्तरणमा आफ्नो भूमिका थप सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : भाद्र २२, २०८३ सोमबार  २ : ३९ बजे