काठमाडौं । मनाङको हिम्लुङ हिमाल बेसक्याम्पमा गएको हिमपहिरोमा बेपत्ता भएका दुईजनाको शव फेला परेको छ । मृतकको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
हिमलुङ हिमाल आरोहणमा गएकामध्ये करिब १२ जना बेपत्ता भएको आशंका प्रहरीले गरेको छ । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले मनाङको हिमलुङ हिमालमा कुल १६ जना बेपत्ता रहेकोमा दुई जना मृत फेला परेको बताएको छ । एसोसिएसनका अनुसार अझै १४ जना बेपत्ता छन् ।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार बेपत्ता भएकाहरू सबै नेपाली रहेको प्रारम्भिक विवरण आएको छ। घटनास्थलमा उद्धारका लागि हेलिकोप्टर परिचालन गरिएको छ।
‘हराएका भनिएकाहरू सबै नेपाली भन्ने विवरण आएको छ। हेलिकोप्टर पनि गएको छ। एकपटक उद्धारकर्तालाई हिमपहिरो गएको भनिएको ठाउँमा छोडेर आएको छ। अर्को हेलिकोप्टर पनि जाँदैछ,’ पौडेलले भन्नुभयो।
घटनास्थलमा उद्धार टोली परिचालन गरी बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्रशासनले जनाएको छ।










