काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् लाइन विस्तार गर्ने क्रममा आठ दिनसम्म विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।
प्राधिकरणका अनुसार कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा काम गर्न आजदेखि २० कात्तिकसम्म बिहान १०स्३० देखि दिउँसो ४ बजेसम्म विद्युत् कटौती हुनेछ।
निर्धारित तालिकाअनुसार १३ कात्तिकमा हाइभिजन कोलोनी, १४ र १६ कात्तिकमा कलंकी–स्युचाटार क्षेत्र, १५ कात्तिकमा कलंकी चोकदेखि ढुंगेअड्डा, १७ कात्तिकमा युएनपार्कदेखि बिजुलीबजार, १८ र २० कात्तिकमा धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्र र १९ कात्तिकमा हाजमा पुल क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।
मौसम प्रतिकूल भए निर्धारित कार्यतालिका परिवर्तन हुन सक्ने प्राधिकरणले जनाएको छ। भूमिगत लाइन विस्तारका क्रममा विद्युत् कटौती हुने भएकाले आवश्यक व्यवस्था मिलाउन प्राधिकरणले उपभोक्तालाई अनुरोध गरेको छ।










