काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले करिब २१० किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ।
सोमबार बिहान करिब ३ बजे दुईवटा जिपमा गाँजा लोड गर्दै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पक्राउबाट बच्न भाग्न खोजेपछि दुई राउन्ड हवाई फायर गरिएको थियो।
प्रहरीले बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरका जिप खानतलासी गर्दा आठवटा पोकामा राखिएको करिब २१० किलो गाँजा बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेमा सप्तरीका रामसागरकुमार यादव, राजेन्द्रप्रसाद मण्डल, राजकुमार शाह, सुनसरीका अमृत बिशुङ्खे र भारतको बिहारका सन्तोष ठाकुर रहेका छन्।
प्रहरीका अनुसार रामसागर र राजकुमार दुवै जिपका चालक हुन्।
पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










