काठमाडौं । नेपाल विद्युत प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाका दिन करिव १ हजार ९ सयदेखि २ हजार मेगावाटसम्म विद्युत माग हुने अनुमान गरेको छ ।
उक्त माग सहजै व्यवस्थापन गर्न सकिने प्राधिकरणको दाबी छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पछिल्लो समय भएको वर्षाका कारण नदीहरूमा पानीको बहाव राम्रो रहेको र विद्युत उत्पादन तथा आपूर्तिका लागि पर्याप्त क्षमता उपलब्ध रहेकाले लक्ष्मीपूजाका दिन विद्युत आपूर्तिमा समस्या नहुने दाबि गरे ।
उनका अनुसार उक्त समयमा विद्युत् उत्पादन करिब २ हजार ५ सय मेगावाट पुग्ने र मागभन्दा उत्पादन बढी हुने भएकाले आपूर्ति सहज बनाउन पर्याप्त विद्युत् उपलब्ध हुने उनले बताए ।
गत वर्षहरूको तुलनामा यस वर्ष लक्ष्मीपूजाको साँझ विद्युत्को माग बढ्ने अनुमान गरिएको छ ।
तिहारमा घर, कार्यालय तथा सार्वजनिक स्थानमा झिलिमिली बत्ती र विद्युतीय सामग्रीको प्रयोग बढ्ने भएकाले साँझको समयमा विद्युत्को माग उच्च हुने गर्छ ।










