काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै सभापति थापाले महाधिवेशनमा सक्रिय सहभागिता जनाउने, सहयोग गर्ने तथा अथक मेहनत गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।
उनले कांग्रेसले इतिहासका कठिन मोडहरूमा निष्ठावान् सदस्य, शुभेच्छुक र नागरिकको साथ, विश्वास, संघर्ष तथा साहसका आधारमा विभिन्न चुनौतीको सामना गर्दै आएको बताएका छन् ।
अहिले पनि पार्टीसामु विभिन्न चुनौती रहेको उल्लेख गर्दै सभापति थापाले भ्रम, दुष्प्रचार र घेराबन्दीका प्रयासबाट कांग्रेस विचलित नहुने स्पष्ट पारे । सत्य, निष्ठा र एकताको बलमा सबै चुनौतीको निर्भीकतापूर्वक सामना गर्दै नयाँ आत्मविश्वासका साथ अघि बढ्ने उनको भनाइ छ ।
उनले अब पार्टीको साझा संकल्प र अर्जुनदृष्टि ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को लक्ष्य प्राप्तिमा केन्द्रित हुने बताउका छन् । पार्टी संगठनलाई सुदृढ बनाउने, नागरिकको विश्वास आर्जन गर्ने र देशको उज्ज्वल भविष्य निर्माण गर्ने अभियानमा सम्पूर्ण ऊर्जा लगाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
यस अभियानमा सबैको सक्रिय साथ, योगदान र प्रतिबद्धता रहने विश्वास व्यक्त गर्दै सभापति थापाले पार्टीका आधिकारिक सूचना तथा आफूसँगको प्रत्यक्ष सम्पर्क अब ‘एनकांग्रेस अलर्ट’मार्फत हुने जानकारी दिएका छन् ।
साथै, पार्टीका आधिकारिक सूचना, धारणा तथा गतिविधिबारे जानकारी लिन नेपाली कांग्रेसका आधिकारिक सामाजिक सञ्जालका पेजहरू फलो गर्न पनि उनले आग्रह गरेका छन् ।










