बैशाख पहिलो सातादेखि प्रसारण हुने तयारिमा रहेको बिश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’ को नेपाली संस्करणलाई आइएमईले मुख्य प्रायोजन गर्ने भएको छ । हिमालय टेलिभिजन र आइएमइबीचको उक्त प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भइसकेको र उक्त पश्चात कार्यक्रमको नाम आइएमई प्रेजेन्टस् “डान्सिङ वीथ द स्टार नेपाल” रहने आइएमई ग्रुपले जनाएको छ । सम्झौता अनुसार डान्सिङ वीथ द स्टारको भोटिङ्ग राउन्डमा एप मार्फत गरिने सबै भोटिङ्ग ‘आइएमई पे’ एप मार्फत हुनेछ ।
बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत लगायतका बिश्वका ६० भन्दा धेरै देशमा प्रसारण भइरहेको बिश्वकै नम्बर एक डान्सिङ रियालिटी सोको फ्रेन्चाइज लिइ हिमालय टेलिभिजनले उत्पादन तथा प्रसारण गर्न लागेको हो । हरेक शुक्रबार र शनिबार राति सुपर प्राइम टाइम ८ बजेदेखि प्रसारण हुने पहिलो सिजन २६ इपिसोडको हुनेछ ।
उक्त डान्सिङ रियालिटी सोमा १२ जना बिभिन्न क्षेत्रका स्टार प्रतियोगी हुनेछन भने उनीहरुलाई पेयरिङ गर्दै १२ जना प्रोफेसनल कोरियोग्राफरले स्टारसँगै पर्फमेन्स दिनेछन । कार्यक्रममा २ जना होस्ट र ३ जना निर्णायक हुनेछन ।दर्शकहरुको भोट र निर्णायकहरुको मुल्यांकनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट इलिमिनेट हुँदै जाने छन ।
बेलायतबाट शुरु भएको डन्सिङ विथ द स्टार्स हाल करीब ६० देशमा बिस्तार भैसकेको छ भने अमेरिकामा २८ औ सिजन चलिसकेको छ । ट्यालेन्ट, इमोसन, ह्युमर र कम्पिटिसनको फ्युजन रहने डान्सिङ विथ द स्टार्स बहुचर्चित फ्यामिली रियालिटी शो को रुपमा परिचित छ र उक्त शोले नेपालमा पनि थप उचाई हासिल गर्ने बिश्वाश लिएको आइएमईले जनाएको छ ।










