काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जना मृत्यु भएको छ । शनिबार राती गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसिथोकका ३६ बर्षिया पुरुषको मृत्यु भएको तम्घास अस्पतालका डाक्टर कविराज भुसालले जानकारी दिए । उनी जेठ २ गते भारतबाट गाउँ आएका थिए ।
धुर्कोट गाउँपालिका ४ जैसिथोकस्थित पाञ्चायन माविको क्वारेन्टाइनमा बसेको बेला जेठ १२ गते उनमा कोरोना पुष्टि भएको थियो । त्यसलगत्तै थप उपचारको लागि जेठ १३ गते उनलाई तम्घासस्थित आइसोलेशनमा लगिएको थियो । उनी दुई बर्षदेखि क्यान्सर र पायल्सको दीर्घरोगीसमेत हुन् ।
सुरक्षाकर्मीको समुहले राति नै उनको शवको व्यवस्थापन गरेको छ । धुर्कोट गाउँपालिका ४ जैसिथोकस्थित एक जंगलमा शवको व्यवस्थापन गरिएको छ । यो सँगै गुल्मीमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या २ पुगेको छ । यसभन्दा पहिले मदाने गाउँपालिकाका ४१ बर्षिया पुरुषको बुटबलमा निधन भएको थियो ।








