काठमाडौं । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले हाल देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश २ का बारा, पर्सा, रौतहट र प्रदेश ५ का बाँके, बर्दिया, दाङ्गमा मौसम सफा हुने जनाएको छ। सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा र प्रदेश १ का तराई भू–भागमा वर्षा भईरहेको छ।
देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रहरुका नदीमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ।
बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति पनि देशको सबै प्रदेशहरुका अधिकांश स्थानहरुमा पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।










