प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान कोरोना भाइरस विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउँदै छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री ओलीले बिहान १० बजे खोप लगाउने जानकारी दिएका छन् ।
ओली बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा पुगेर खोप लगाउने छन् । ओलीले खोप लगाएरै दोस्रो चरणको खोपको अभियानको शुरुआत गर्नेछन् ।ओलीले बिहान १० बजे खोप लगाएपछि देशभर दोस्रो चरणको खोप अभियान शुरु हुने छ।
दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन गरिँदैछ । करीव १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ । यो अभियान १० दिनसम्म चल्नेछ ।तर यसअघि प्राथमिकतामा परेर छुटेकाहरुले पनि यो अवधिमा खोप लगाउन पाउने जनाइएको छ ।
६५ वर्षमाथिका नागरिकलाई खोप लगाएपछि १० दिनपछि ५५ वर्ष माथिकालाई कोरोना खोप दिने कार्यक्रम रहेको छ । यसअघि भने सरकारले ५५ वर्षदेखि माथिकालाई खोप दिने जनाए पनि अन्तिम समयमा आएर ६५ वर्ष माथिकालाई भनी प्रचार गरेको हो ।










