खोप अभियान : जेठ २ गतेबाट चिनियाँ खोपको दोस्रो मात्रा लगाउन थलिदै



कोरोनाभाइरस महामारीको गम्भीर चपेटामा परेका बेला नेपालमा खोप अभियानसमेत केही सातायता अवरुद्ध बनिरहेको छ।तर अब जेठ २ गतेदेखि उक्त अभियान फेरि सञ्चालन गरिने स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखाका प्रमुखले बताएका छन्।वैशाख १६ गतेदेखि लकडाउन लागु भएपश्चात् खोप अभियान स्थगित भएको थियो। खोप केन्द्रहरूमा अचाक्ली भिड देखिएपछि चिन्ता बढेका थिए।

अब अवस्था यही कायम रहेको खण्डमा हामी जेठ २ गतेदेखि चिनियाँ भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु गर्छौँ,ू खोप शाखाका प्रमुख झलक गौतमले  बताए।

उक्त चिनियाँ खोप चैतको तेस्रो सातादेखि रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाण्डू, ललितपुर र भक्तपुर जिल्लामा वितरण गरिएका थिए। यिनै जिल्लामा पहिलो मात्रा लगाएका २ लाख ८८ हजार मानिसलाई अब दोस्रो मात्रा लगाइने गौतमले बताए।

चीनले ८ लाख मात्राको भेरोसेल खोप नेपाललाई अनुदानमा दिएको थियो। उक्त खोपलाई अघिल्लो साता विश्व स्वास्थ्य सङ्गठनले पनि आपत्कालीन प्रयोगको अनुमति दिएको छ।अब खोप लगाउने बेलामा भिडभाड नहोस् भन्ने हेतुले केन्द्रहरूको सङ्ख्या बढाइने, दैनिक कोटा तोकिने अनि स्थानीय जनप्रतिनिधि तथा स्वयंसेवकहरूको सहयोग लिइने उनले बताए।केन्द्रहरूबारे सार्वजनिक जानकारी दिइने उनले बताए।

प्रकाशित मिति : बैशाख २८, २०७८ मंगलबार  ४ : ४१ बजे