ओखलढुंगा जिल्लाका विभिन्न स्थानीय तहमा कोरोना भाइरस संक्रमणदर बृद्धि हुँदै जाँदा पछिल्लो समयमा यहाका केही स्थानीय सरकारका जनप्रतिनिधिहरु संक्रमित प्रति थप उत्तरदायि बन्दै गएका छन् । जिल्लाको मानेभञ्ज्याङ, सुनकोशी, मोलुङ र चम्पादेवी गाउपालिकाका जनप्रतिनिधिहरु संक्रमित प्रति थप जिम्मेवार र उत्तरदायि बन्दै गएका हुन् ।
उनिहरु पछिल्लो समयमा विरामीहरुको अवस्था बुझ्न होम आसोलेशनमा रहेका संक्रमितको घरघरमा पुग्न थालेका छन् । स्वास्थ्यकर्मी सहित संक्रमितको घर पुग्दा जनप्रतिनिधिहरुले पोषिलो खानेकुरा, भिटामिन, औषधि लगायतका सेवा समेत लिएर जाने गरेको पाइएको छ । सुनकोशी गाउपालिकाले संक्रमित रहेका घरघरमा गएर भिटामिन, औषधि र थप पोषिलो खानेकुरा वितरण गरिरहेको गाउपालिका अध्यक्ष रुद्र प्रसाद अधिकारीले बताउनुभयो ।
त्यस्तै मानेभञ्ज्याङ गाउँपालिकाले कोरोनाबाट संक्रमितलाई अण्डा, हर्लिक्स लगायत पोषिलो राहत उपलब्ध गराउन थालेको गाउपालिका उप प्रमुख सविता राइले जानकारी दिनुभयो । पालिकाभित्रका सबै वडामा यस्तो राहत उपलब्ध गराउने अभियानमा गाउपालिका लागेको वाहाको भनाइ छ । उक्त गाउपालिकाले राहतस्वरुप प्रतिव्यक्ति औषधि सेट, एक क्रेट अण्डा र हर्लिक्स उपलब्ध गराइरहेको छ । हालसम्म मानेभञ्ज्याङ गाउँपालिका बाट सोमबार मात्रै वडा नम्बर २, ३ र ४ का ६५ जना संक्रमितलाई खानेकुरा र औषधि उपलब्ध गराइएको मानेभञ्ज्याङ गाउँपालिका वडा नं २ का वडाध्यक्ष उमेश कार्कीले बताउनुभयो । यस अघि गाउपालिको ५१ जनालाई उक्त सेवा प्रदान गरेको थियो ।
उता चम्पादेवी गाउपालिका पनि आफ्ना नागरिकको स्वास्थ्य अवस्थाको ख्याल गर्दै पोषिलो खानेकुरा उपलब्ध गराएको चम्पादेवी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद सुवेदी बताउनुहुन्छ । हामी सबै वडा वडामा पुगेर, संक्रमितलाई भेटेर पोषिलो खानेकुरा उपलब्ध गराइरहेका छौँ,’ सुवेदीले भन्नुभयो, ’संक्रमितहरुको घरमै पुगेर स्वास्थ्य अवस्था बुझ्न र उनिहरुलाई हौसला प्रदान गरी मनोबल बढाउन थालेका छौँ ।’ सो अभियानमा स्वास्थ्यकर्मीको समेत सहभागी छन् । स्वास्थ्यकर्मीहरुले संक्रमितलाई स्वास्थ्य परीक्षण गरेर स्वास्थ्य सल्लाह दिँदै आएका छन् । मोलुङगाउपालिकाले पनि यो अभियानलाई निरन्तरता दिइरहेको गाउपालिकाले जनाएको छ ।
फोटो क्याप्सन ः










